अपडेट 
२०७९ मंसिर ८, बिहीबार ०७:१९

महाभारत बारेमा जान्ने प्रत्येक पाठकले द्रोणाचार्यका चरित्र बारे पक्कै केही न केही जानकारी राखेको हुनुपर्छ । महाभारत युद्धमा द्रोणाचार्यको मुख्य भूमिका थियो । भीष्मपिता महको मृत्यु पश्चात महाभारत युद्धमा प्रधान सेनापतिसमेत बनाइएका थिए किनभने कौरबको दरबारमा भीष्मपिता महपछि अस्त्रशस्त्रका परम ज्ञाता उहाँ नै थिए । वहाँको शुरूआति जीवनतिर जाँदा भारद्वाज मुनिकहाँ बृहस्पतिको अंशका रूपमा द्रोणाचार्य जन्मिएका थिए । गङ्गाद्वार नामक स्थानमा महर्षि भारद्वाज बस्ने गर्थे । उनी ब्रतशील र यशस्वी थिए । वहाँको जन्मबारे वडो रोचक कथा छ । द्रोणाचार्य अप्सराकी कोखबाट जन्मेका थिए । एकपटक भारद्वाज यज्ञ गरिरहेका थिए । त्यही क्रममा अन्य महर्षिहरूलाई लिएर गंगास्नानका लागि गंगा नदीमा गए । त्यहाँ उनले घृताची नामक अप्सरालाई नुहाएर पानीबाट बाहिर निस्कँदै गरेको देखेर उनको मनमा कामवासना जातृत भयो र दुबैको यौन सम्बन्धबाट द्रोणाचार्यको जन्म भयो ।

उनी एक श्रेष्ठ धनुर्धर, शास्त्रबेत्ता र परम तेजस्वी थिए । वहाँ विद्यार्थी जीवनमा निकै मिहिनेती तथा लगनशील थिए । महर्षि भारद्वाजले द्रोणलाई शास्त्रीय शिक्षा दिन आफ्ना शिष्य अग्निवेश्यलाई अह्राएका थिए । वहाँले आफूले सिकेको आग्नेयास्त्र विद्या सिकाएका थिए । भारद्वाजका मित्र राजा कृषत्का छोरा द्रुपत र द्रोणसँगै जन्मिएका थिए । भारद्वाजको आश्रममा द्रुपद र द्रोणसँगै शिक्षा लिएका थिए । यसैक्रममा द्रोण र द्रुपदको बीचमा गहिरो मित्रता भएको थियो । राजा बृषत् मृत्यु पश्चात द्रुपद उत्तर पाञ्चालका राजा भए । द्रोणाचार्यको विवाह शरद्वानकी छोरी र गुरु कृपाचार्यकी बहिनी कृपीसँग भएको थियो, जसबाट अश्वत्थामाको जन्म भयो । द्रोणाचार्यका गुरु जमदग्निनन्दन परशुराम थिए । द्रोणाचार्य आफ्ना छोरा अश्वत्थामाका लागि एउटा दुधालु गाई ल्याउन चाहन्थे तर गरिबीका कारण गाई ल्याउन सकेन । अन्तमा गाई सहयोगका लागि आफ्ना प्रिय मित्र द्रुपद कहाँ गए । द्रुपद द्रोणलाई चिन्न अस्वीकार गरे र बेइज्जती गरेर फर्काइ दिए । द्रोणाचार्यको विद्यासँग भीष्म निकै जानकार थिए । वहाँले आफ्ना राजकुमारहरूलाई उनैबाट शिक्षा दिलाउने इच्छा व्यक्त गरे । भीष्मले राजकुमारहरूलाई धनुर्वेद शिक्षा सिकाउन उनीसँग आग्रह गरे । उनले सहर्ष स्वकिार गरी राजकुमार हरूलाई शिक्षा दिन शुरू गरिदिए । हस्तिनापुरको दरबारसँग निकै नजिक हुन थाले । अर्जुन सबै राजकुमार मध्ये बढी प्रिय थिए । एक दिनको कुरो हो सबै शिष्यले भोजन गरि रहेका थिए । तेज हावाका कारण अचानक दियो निभ्यो । अध्यारोमा पनि भातको गाँस हातले कतै नझुक्की मुखमा पु¥याएको देखेर अर्जुनले ठूलो पाठ सिके । निशाना लगाउन प्रकाशै चाहिन्छ भने होइन । मात्रै अभ्यास आवश्यक पर्छ भन्ने थाहा पाए । त्यसैदिनदेखि अँध्यारोमा पनि बाण चलाउन अभ्यास गर्न थाले । द्रोणाचार्यको शिक्षा कौशलताको खबर देश–देशान्तरसम्म फैलियो । टाढा–टाढा देशका राजकुमारहरू आउन थाले । यही क्रममा एकदिन निषादपति हिरण्यधनुका छोरा एकलव्य पनि आए । निषाद जाति एउटा आदिवासी भएकाले द्रोणाचार्यले उनलाई शिक्षा दिन अस्वीकार गरि दिए ।

एकलव्य त्यहाँबाट उदास भई फर्के । वनमा उनले द्रोणाचार्यको एउटा माटोको मूर्ति बनाएर त्यसैमा आचार्यभाव राख्दै श्रद्धा र प्रमेपूर्वक नियमित अस्त्राभ्यास गर्न थाले । केही दिन मै उनी निपुण बने । एक पटक सबै राजकुमार आचार्यको अनुमति लिएर शिकार खेल्न वनमा गए । यिनीहरूसँग एउटा कुकुर पनि थियो । एकलव्यलाई हेरेर कुकुर भुक्न थाल्यो । एकलव्यले कुकुरको मुखमा सातवटा बाण प्रहार गरे । वाणले कुकुरको मुख भरियो, तर उसलाई कुनै चोट लागेन । वाणले भरिएको मुख लिएर कुकुर राजकुमारहरूको छेउमा पुग्यो । कुकुरको यस्ता अवस्था देखेर यिनीहरू छक्क परे । यसरी कुकुरले राजकुमारहरूलाई एकलव्य कहाँ पु¥यायो । पाण्डवले एकलव्यको परिचय जान्न चाहे । एकलव्यको जानकारी लिइसकेपछि घर फर्किए पछि अर्जुनले गुरुसँग गुनासो पोखे–गुरुदेव ! तपाईंले म बराबर तपाईका कुनै पनि शिष्य हुँदैनन् भन्नु भएको थियो । तर तपार्इंकै शिष्य एकलव्य म भन्दा धेरै जान्ने रहेछन् । यस्ता कुरा सुनेपछि अर्जुनलाई लिएर एकलव्यलाई भेट्न गए । एकलव्यले द्रोणाचार्यलाई प्रणाम गरेपछि सोधे–गुरुदेव ! तपार्इंको शिष्य सेवामा उपस्थित छन् । आज्ञा गर्नुहोस् । द्रोणाचार्यले गुरुदक्षिणा माँगे । गुरुदक्षिणा दिन एकलव्य तयार भए । द्रोणाचार्यले उनीसँग दाहिने हातको बुढी औंला मागे । एकलव्यले आफ्नो दाहिने हातको बुढी औंला काटेर गुरुदेवलाई सुम्पी दिए । यसपछि उनले राम्रोसँग वाण चलाउन सकेनन् । एक पटक द्रोणाचार्यले आफ्ना शिष्यहरूलाई परीक्षा लिन चाहे । उनले एउटा सानो नक्कली चरा बनाएर कसैले नपाउने गरी रूखमा झुण्ड्याइ दिए । उनले सबै शिष्यलाई पालै पालो गरी सोध्न थाले कि त्यस रूखमा बसेको चरालाई देख्छौं । सबैले उत्तर दिन थाले कि चरा, रूख, गुरु र आफ्ना भाइहरूलाई पनि देखिरहेका छौं । अन्तिममा गुरुले अर्जुनलाई बोलाएर समान प्रश्न सोधे ।

अर्जुनले उत्तर दिए गुरुदेव ! मैले चराको टाउको बाहेक केही देखिरहेको छैन । गुरुको आदेश लिएर तत्कालै चराको टाउको खसाइ दिए । त्यस दिनदेखि अर्जुनमाथि सर्वश्रेष्ठ धनुर्धर हो भने विश्वास गर्न थाले । एकदिन द्रोणाचार्य गंगास्नान गरि रहेका थिए । त्यतिकैमा गोहीले उनको खुट्टा समात्यो, द्रोण आफै पनि त्यसबाट छुट्न सक्थें, तर उनले शिष्यहरूसँग भने गोहीलाई मारेर मलाई बचाओ । वहाँले वाक्य पूरा गर्नु भन्दा पहिलै अर्जुनले पानी भित्रको गोहीलाई ताकेर पाँचवटा बाण हाने । गोही म¥यो र द्रोणाचार्यको खुट्टा छुट्यो । द्रोणाचार्य धेरै खुशी भए र अर्जुनलाई भने अब म तिमीलाई ब्रह्माशिर नामक दिव्यास्त्रको प्रयोग र संहार बारेमा बताउँछु । यो अस्त्र अमोघ हुन्छ । यसलाई कहिले पनि कुनै साधारण मनुष्यमाथि नचलाउनु । यसले पूरै जगतलाई जलाउन सक्ने क्षमता राख्छ । अर्जुनले हात जोडेर स्वीकार गरे । त्यस दिव्यास्त्र बारेमा सिकाइ सकेपछि द्रोणाचार्यले भने अब तिमी समान कुनै धनुर्धर हुने छैनन् । राजकुमारहरूका शिक्षा आर्जनको काम सकिए पछि राजकीय सामानका साथ सबैलाई रङ् गमण्डपमा ल्याइए । पालै पालो गरी सबै राजकुमार हरूले आ–आफ्ना अस्त्रकौशलता देखाउन थाले । अन्तमा अर्जुनको पालो आयो । त्यतिकैमा कर्ण पनि रंगमण्डपमा प्रवेश गरे र अर्जुनलाई चुनौती दिए । यसबाट अर्जुन र कर्णको बीचमा शत्रुता भयो र कर्ण र दुर्योधनको बीचमा मित्रता भयो । त्यसपछि गुरुदक्षिणाका रूपमा पाण्डवले द्रुपदलाई समातेर द्रोणाचार्यका अगाडि उभ्याए, द्रोणाचार्यले भने द्रुपद तिमी निराश नहोऊ । तिम्रो घमण्ड तोड्न मैले यस्तो गर्नु परेको थियो । अब तिम्रो समान म पनि राजा भएर तिमीसँगको मित्रतालाई निरन्तरता दिन चाहन्छु । त्यसैले तिमी गङ्गाको दक्षिण तटको राजा बन । म उत्तर तटको राजा बन्छु । त्यसपछि द्रुपदलाई द्रोणाचार्यले मुक्त गरिदिए । त्यसैबेलादेखि द्रुपद दक्षिण पाञ्चालमा बस्न थाले । उत्तर पाञ्चालमा द्रोणाचार्यको राज्य कायम भयो । महाभारत युद्धको दशौं दिन भीष्मको बध भएपछि कौरबले उनलाई सेनापति नियुक्त गरे ।

महाभारत युद्धमा उनले चक्रव्यूह रचना गरे । त्यसलाई तोडेर अभिमन्युभित्र पसे । जयद्रथ लगायत अन्य कौरब पक्षका योद्धाहरू पांडवपक्षलाई भित्र छिर्न दिएनन् । अभिमन्युको बध पश्चात द्रोणमाथि पांडव पक्षबाट आक्रमण भयो । द्रोणाचार्यको युद्ध देखेर पाण्डव चिन्तामा परे । त्यहींबेला कृष्णको सल्लाह अनुसार भीमले मालवा नरेश इन्द्रवर्माको अश्वत्थामा नाम गरेको हातीलाई मारि दिए । त्यसपछि अश्वत्थामा मारियो भन्दै भन्दै कराउन थाले । द्रोणाचार्यलाई विश्वास भएन । त्यसपछि युधिष्ठिरसँग सोधे । युधिष्ठिरले जोडसँग भने अश्वत्थामा मारियो । फेरि मसिनो आवाजमा भने तर अश्वत्थामा नामको हात्ती हल्लाका कारण युष्धिष्ठिरको पछिल्लो स्वर सुनेनन् । पुत्र शोकले उनी अस्त्रशस्त्र राखि दिए । घृष्टद्युम्न तलबार लिएर उनको रथतर्फ बढे । द्रोणाचार्य विक्षुप्त अवस्था रहेका बेला घृष्टद्युम्नले उनको मस्तकको बाल समातेर टाउको काटि दिए । मृत्यु हुँदा उनको उमेर चार सय वर्षको थियो । द्रोणाचार्य एउटा विद्वान गुरु थिए त्यसमा कुनै शंका छैन तरपनि कतिपय ठाढो प्रश्न वहाँ सामुन्ने उभिएका छन् जसको जबाव पाठक वर्गका लागि जिज्ञासाको विषय जहिले पनि बनेका छन् । प्रश्नहरूमा द्रोणाचार्य धर्मको ज्ञाता भए पनि अधर्मी कौरबका पक्षमा किन उभिए ? एकलव्य जस्ता गुरुका आदेश पालक शिष्यलाई आफ्नो दक्षिणामा दाहिने हातका बुढी औंला किन माँग गरेका थिए त ? महाभारत युद्धमा अभिमन्युलाई मार्ने बेला वहाँ नै प्रधान सेनापति थिए, के अभिमन्युको मृत्यु युद्ध नियम अनुसार भएको थियो त ? भिष्मपिता मह प्रधान सेनापति हुँदासम्म युद्धमा नियमलाई सबैले पालन गरेका थिए । एउटा योद्धासँग एक जना भन्दा बढी विपक्षी योद्धा लड्न पाउँदैनन् । यी सारा प्रश्नको उत्तरका लागि जबाब अहिले पनि महाभारतका पाठकगण जबाबको प्रतिक्षामा बसेका छन् । यस्तै आफ्ना छोरा अश्वत्थामालाई अध्यारोमा वा राजकुमारहरूका परोक्षमा किन विभिन्न किसिमका अस्त्रशस्त्रका विद्या दिएका थिए ? यस्ता अनेकौं प्रश्न छन् । पहिलो प्रश्नको उत्तर खोज्दै क्रमशः अगाडि बढ्ने प्रयास गर्नेछु ।

द्रोणाचार्यको यस सम्बन्धमा के भनाइ थियो भने म हस्तिनापुरका अन्न पानी खाएको हुनाले मेरो पहिलो धर्म राज्य पक्षबाट युद्ध गर्नु नैतिक जिम्मेवारी हुन आउँछ, त्यसैले म नमकको मूल्य चुकाएको हुँ । अर्को प्रश्न एकलव्य जस्ता आज्ञाकारी शिष्यको औंठा सम्बन्धमा वहाँको के भनाइ थियो भने एकलव्यले गुरुको आदेशबिना विद्या आर्जन गरेका थिए । विद्या चोरेर होइन, सहमतिमा लिनु पर्ने हो । त्यसैले वहाँको दण्ड न्यायशास्त्र सम्मत थियो । तेश्रो प्रश्न अभिमन्युको मृत्यु सम्बन्धमा छ त्यहाँ द्रोणाचार्य पक्कै चुक्नु भएको छ । यस सम्बन्ध वहाँको तर्क के छ भने यहाँ त म राज्यको आदेशको पालन मात्र गरेको हुँ । एउटा देशभक्त नागरिक राज्य आदेशलाई कहिले पनि उलंघन गर्नु हुँदैन । अर्कोतिर अन्तिम प्रश्न के छ भने अश्वत्थामालाई बेग्लै शिक्षा दिनु के न्यायसंगत थियो त ? यस सम्बन्धमा वहाँको के भनाइ छ भने शिक्षण समय बाहेक गुरु स्वतन्त्र हुन्छन् । वहाँले आफ्नो स्वतन्त्र समयमा शिक्षा दिनु आफ्नो इच्छाको कुरो हो । यसरी वहाँले सबैप्रश्नको जबाब पालैपालो दिएका थिए । तर जे जस्तो जबाब दिए पनि अहिले पनि वहाँप्रति केही शास्त्रीय विद्वानहरू नकारात्मक प्रश्न गर्न छोडेका छैनन् । अभिमन्युलाई कौरबपक्षका योद्धाहरू समूहगत रूपमा नमारेको भए युद्धको प्रकृति बेग्लै हुन्थ्यो होला । त्रेतायुगभन्दा द्वापरमा जाति÷वर्ण भेद बढी देखिन्थ्यो । कर्ण एउटा ठूलो योद्धा भए पनि सदैव अपमानित भएर बस्नु परेको थियो । एकलव्य आदिबासी नभएको भए औंठा गुमाउनु पर्ने थिएन होला । यस्ता अनेको प्रश्न थिए जहाँ पाण्डव तथा कौरब पक्षलाई कलंकित बनाएर छोडेका छन् । त्यति मात्र थिएन, पुरूष र स्त्रीबीच पनि निकै ठूलो भेद थियो । द्रोपदी जस्तो स्त्रीलाई जूवामा हार्नु भनेको के द्रोपदी, एउटी बस्तु थिइन त ! ठीक छ कौरब पक्ष त धर्म विरोधी थिए तर पाण्डव पक्ष पनि जाति÷पाति तथा महिला÷पुरूषको बीचको विभेदमा कम दोषी देखिँदैनन् । कुनै पनि शासकले कमजोर मानवमाथि दमन गर्न भन्दैनन् । गरिबमाथि अत्याचार गर्न भन्दैनन्, आदि । इतिश्री । लेखक त्रिविका अवकाशप्राप्त सह–प्राध्यापक तथा अन्वेषक हुन् ।

Comment

Related News