विभिन्न राजनितीक दलका अगुवाहरुले जिल्लामा देखिएका विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागि मिलेर काम गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् ।
राजविराजमा मंगलबार नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा राजनीतिक दलहरुको संयुक्त बैठकमा जिल्लाको विकास निर्माण तथा जनसरोकारका विषयमा देखिएका मुख्य समस्याहरुको पहिचान गरी समाधानका सामूहिक रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सो बैठकबाट जिल्लामा हाल महत्वपूर्ण समस्याको रुपमा राजविराज बस र्पाक, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको अधुरो कन्या छात्रावास भवन, प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण, राजविराज नगरपालिका क्षेत्रको विटौरी जग्गा बाहकलाई लालपूर्जा प्रदान, गजेन्द्र नारायण सिह अस्पतालमा स्तरीय स्वास्थ्य सेवा र जनशक्तिको अभाव तथा जनसरोकारका कार्यालयहरुमा चुस्तदुरुस्त सेवा प्रवाहको अभाव प्रमुख समस्याको रुपमा रहेको ठहर गरेको छ ।
त्यस्तै शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन र मधेश प्रदेश कृषि विश्वविद्यालयलाई व्यवस्थित गर्नु पर्नेलगायतका समस्याहरुको समाधान गर्न आवश्यकता देखिएको बैठकले ठहर गरेको छ । सोको समाधानका लागि सबै राजनीतिक दल मिलेर काम गर्ने सहमत रहेको नेपाली काँग्रेस सप्तरीका सचिव सनद कुमार मण्डलले जानकारी दिए ।
नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षतामा आयोजित बैठकमा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशोक कुमार मण्डल “अमर”, जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष केदार यादव, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी, जनमत पार्टीका जिल्ला अध्यक्ष रामगमन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष अरुण कुमार देव, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर साह र लोसपा नेपालका जिल्ला अध्यक्ष सुनिल कुमार झा सहभागी थिए ।
बैठकमा सहभागी भएका राजनीतिक दलहरुले गजेन्द्र नारायण सिह अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति नहँुदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको, बसपार्क निर्माण र संचालनमा ढिलाइ हँुदा सडक किनारबाटै यातायात संचालनका कारण दुर्घटनाको जोखिम बढेको, पार्किंग र ट्राफिक व्यवस्थापन अस्तब्यस्त बनेको, राजविराज नगरपालिका क्षेत्रको ४ हजार ६ सय बिटौरी जग्गा बाहक परिवार समस्यामा परेको, विभिन्न सरकारी कार्यालयमा ढिलासुस्ती र आर्थिक लेनदेनबाट सेवाग्राही पिडीत बनेको लगायतका समस्या उठान गर्दै समाधानका लागी सम्बन्धित मन्त्रालय र कार्यालय प्रमुख संग संयुक्तरुपमा भेटी आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
त्यस्तै सो बैठकबाट संयुक्त प्रयासबाट प्राप्त हुने उपलब्धिबारे समीक्षा र भावी दिनमा जिल्लाको समग्र विकासका लागि एकजुट भइ अघि बढ्ने बताएका छन् ।