अपडेट 
२०७६ चैत्र २०, बिहीबार १२:१६

 जनकपुरधाम; कोरोना संक्रमितको उपचारका लागि प्रदेश स्वास्थ्य निर्देशनालयको आग्रहमा जनकपुरस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालले २० शैयाको आइसोलेसन वेड तयार पारेको छ। तर यहाँका स्वास्थ्यकर्मीले भने सुरक्षाका कुनै सामग्री पाएका छैनन्।

प्रदेश सरकारले आश्वासन दिए पनि हालसम्म पिपिई पनि उपलब्ध गराउन सकेको छैन। बुधवार अस्पतालमा कार्यरत स्टाफ नर्सद्वय उदया महतो र नम्रता राणाले सुरक्षा सामग्री नपाएको भन्दै आन्दोलन थाले। अस्पताल प्रशासनले उनीहरुको माग सम्बोधन गर्नुको साटो कारबाही गरी निकाल्ने चिट्ठी नै थमाइदिए। त्यसपछि झन् विवाद चर्किएपछि अस्पतालका अन्य नर्स र डाक्टर पनि आन्दोलित भए। पछि प्रशासनले बाध्य भएर उनीहरुलाई कारबाही गर्ने चिट्ठी फिर्ता लियो।

स्वास्थ्य कर्मचारी र प्रशासनबीचको विवादले शिक्षण अस्पताल दिनभर ठप्प भयो। कतिपय विरामी उपचारका लागि आए पनि फर्किनुपर्यो। केही समयका लागि विवाद साम्य त भयो, तर सुरक्षा सामग्रीको अभावका कारण नर्स र डाक्टरहरु रुष्ट बनेका छन्। उनीहरु कोरोनाका संक्रमित आएमा कसरी उपचार गर्ने भनेर चिन्तित देखिन्छन्।

जानकी मेडिकल कलेजका प्रशासन सहायक उमेश यादवले सरकारले डकडाउन गरेको ९ दिन बित्दा पनि स्वास्थ्यकर्मीले सुरक्षाको सामग्री नपाउनु स्वभाविक चिन्ताको विषय भएको बताए। उनले भने, ‘केही सुरक्षा सामग्री हामीसँग पनि छ। तर पर्याप्त छैन। प्रदेश वा संघीय सरकारले कम्तीमा तत्कालै सुरक्षा सामग्री उपलब्ध गराउनुपर्छ।’ प्रदेश सरकारले सबै जिम्मेवारी लिने बताइए पनि हालसम्म केही सहयोग नगर्दा समस्या भइरहेको उनको भनाइ छ।

कोरोना संक्रमितको उपचार गर्ने आइसोलेसन वेड तयार पारिएकाले कम्तीमा पिपिई, थर्मल गन, एन–९५ मास्क र ह्यान्ड सेनिटाइजर जस्ता सामग्री उपलब्ध गराउन अस्पताल प्रशासन सहायक यादवले प्रदेश सरकारसँग माग गरे। ‘संघीय सरकारले प्रदेशलाई केही सामग्री पठाएको थाहा पाइयो, तर यहाँ केही उपलब्ध गराएको छैन,’ उनको गुनासो छ।

प्रदेश सरकारले विरामीको उपचार नगर्ने अस्पताल र डाक्टरको लाइसेन्स रद्द गर्ने चेतावनी दिएको छ। यो चेतावनीले स्वास्थ्यकर्मीको मनोबल कमजोर पारेको पनि अस्पतालका प्रशासन सहायक यादवले औंल्याए। उनले भने, ‘उपचार गर्ने स्वास्थ्यकर्मीलाई सुरक्षाको सामग्री पनि दिन नसक्ने अनि कारबाहीको चेतावनी दिने? यो सुहाउदो कुरा भएन। यसले स्वास्थ्यकर्मीहरुको मनोबल गिरेको छ।’

‘भारतमा प्रधानमन्त्री मोदीले डाक्टरदेखि स्विपरको काम गर्नेसम्मलाई स्वयं फोन गरेर मनोबल बढाउने काम गर्नुहुन्छ’, उनले भने, ‘तर यहाँ मनोबल बढाउने कुनै काम गरेका छैनन्। यो चिन्ताको विषय हो। सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले मनोबल बढाउने काम नगरे कोरोना भाइरसको संक्रमण फैलिएपछि झन् ठूलो समस्या उत्पन्न हुन्छ।’

प्रदेश सरकारले क्वारेन्टाइन र आइसोलेसन तयार पारेका अन्य अस्पतालमा पनि हालसम्म स्वास्थ्यकर्मीका लागि पिपिई उपलब्ध गराउन सकेको छैन। भारत वा खाडी मुलुकबाट फर्केका करिब ३ सयबढी शंकास्पद कोरोना संक्रमित प्रदेश २ का विभिन्न जिल्लाको क्वारेन्टाइनमा छन्। उनीहरुको उपचार स्वास्थ्यकर्मीहरुले यतिबेला भगवानभरोसामै गरिरहेका छन्। यसबाट सुरक्षा सामग्री अभावमा उपचार गर्ने स्वास्थ्यकर्मी नै संक्रमित हुने खतरा बढेको छ।

लकडाउनको ९ दिन पुगेको छ। प्रदेश २ भारतको विहार राज्यसँग जोडिएको छ, जहाँ कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ।

Comment


Related News

Latest News

Trending News