सरकारले डेङ्गीको महामारी फैलन नदिन देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ ।
बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेसंगै सरसफाइ अभियान सञ्चालन गरिएको हो । केही जिल्लामा डेङ्गीको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न देशव्यापी रुपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थालिएको हो ।
सरकारले डेङ्गी नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिक समक्ष आग्रह गरेको छ । सरकारको निर्णयसंगै ‘लामखुट्टे खोजी र नष्ट’ अभियान अन्तर्गत सिंहदरबारमा समेत सरसफाइ गरिएको नायवसुव्वा रामकुमार लम्सालले जानकारी दिनुभयो ।
डेङ्गी फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियानलाई निरन्रता दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।