अपडेट 
२०८१ कार्तिक ११, आईतवार ०७:५४

संघीय सत्ता संकट गहिरिएपछि ब्यूँताइएको सत्ता गठबन्धनको साथमा देखिएका तीन दल भने तीन तिर फकेका छन् । सत्तागठबन्धनको पक्षमा उभिएको जनता समाजवादी पार्टी (जसपा)नेपाल, जनता समाजवादी पार्टी(जसपा) र जनमत पार्टी तीनतिर फर्केका छन् ।

मधेश प्रदेश सरकारमा रहेको जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सत्ता जोगाउन आफ्नो अडान छाडेका छन् । जसपा नेपालले मधेश प्रदेशको सरकार हात पार्न र अशोक राईको प्रभाव कम गर्न सत्ताधारी दलको साथमा उभिएको छ । अशोक राई नेतृत्वको जसपा सत्ताकै चाहना अनुरुप बनेकाले साथमा रहनु अस्वभाविक होइन ।

सहकारीको करोडाँै रकम अपचलनमा सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष समेत रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेपछि चर्को आलोचना गरेका जनमतका अध्यक्ष राउत भने अहिले संघीय सत्तागठबन्धनको साथमा उभिएका छन् । नेकपा माओवादी लगायतका विपक्षी दलहरुले संयुक्त रुपमा सरकारविरुद्ध आन्दोलन चर्काउने तयारी गर्दा राउतको साथ पाउने अपेक्षा गरेका थिए । तर अन्तिम समयमा राउतले सरकारको साथमा देखिएको छ ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई साथ नदिए मधेश प्रदेश सरकारको नेतृत्व खोसिने धम्की दिए लगतै राउतले आफनो बोली विपरीत सरकारको पक्षमा खडा हुन पुगेका छन् । जसपा नेपाललाई भने विभाजित भएर गठन भएको जसपाको प्रकोपबाट जोगिन र मधेश प्रदेश सरकारमा पुनःस्थापित हुन सरकारलाई साथ दिनुको विकल्प देखेको छैन ।

विपक्षी दलहरुको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद जोगाउन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ठूलो घात गरेका थिए । जसपा नेपाललाई विभाजन गराएका प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर त्यसलाई वैधानिक बनाउन सक्ने जोखिमलाई न्यून गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विश्वास आर्जन गर्न यादव सत्ता गठबन्धनको पक्षमा उभिएका छन् । देउवाले राउतलाई विश्वास गरेका छैनन् ।

एमाले बाहिरका दलहरु मध्ये अशोक राई नेतृत्वको जसपा ओलीको सर्वाधिक विश्वसनीय पार्टी हो । तर देउवाको कारण दल विभाजन सम्बन्धी अध्यादेश रोकिएपछि यादव पनि सरकारको पक्षमा उभिएका छन् । यादव, राउत र राईको पार्टी मधेश केन्द्रित नै छ । तर तीनै दल तीन तिर फर्केको छ । संघीय र प्रदेश सरकारमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा पुगे पनि सत्ता गठबन्धन बाहिर जान सकेको छैन ।

लामिछानेलाई पक्राउ गरेपछि विपक्षीहरुको कडा आक्रमणमा परेको सरकारले सत्ता गठबन्धनको बैठकमा कहिल्यै नबोलाएको जसपा नेपाललाई समेत सम्झेको छ । तिहार अगावै मधेश प्रदेश सरकारबाट जनमत पार्टीलाई हटाउने सहमति गरिसके पनि विपक्षीहरुको खेमामा जानबाट रोक्न त्यो सहमतिको कार्यान्वयनलाई तत्काल स्थगन गरेको छ ।

राई नेतृत्वको जसपाकी सहअध्यक्ष रेणु यादव र जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले सत्तागठबन्धनको बैठकपछि नेताहरुको समूहगत फोटो सार्वजनिक गरेको २४ घण्टा नवित्दै जसपाका उपमहासचिव समेत रहेका खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता लोलुप्ताका कारण पटक– पटक मधेशलाई धोका दिएको आरोप लगाएका छन् ।

उपेन्द्र यादवको पार्टीलाई विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरी जनताको जीवनस्तरमा सुधार ल्याउन काम गर्नुपर्ने उनले बताए । जसपाले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले आफ्नो पार्टी विकल्प बनेर अघि आएको बताए । मन्त्री यादवले भने, ‘सत्ता लोलुप्ताका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पटक–पटक मधेशका जनतासंग धोका गरेको सर्वविदितै छ । हामी त्यस्तो छैनौँ, हामी केवल राजनीति गर्न होइन, जनताको जीवनस्तर सुधार्न र स्थायी परिवर्तन ल्याउनका निमित्त आएका छौँ,’ मन्त्री यादवले भने । उपेन्द्र नेतृत्वको जसपा नेपालमा निराशा छाएको पनि मन्त्री यादवको दाबी रहेको छ ।

सो पार्टीका कार्यकर्ताहरूले विकल्पको खोजी गरिरहेको उनले बताए । मन्त्री यादवले संगठन विस्तारमा लाग्नुपर्ने र सुदृढ पार्टी गठन गर्नुपर्ने बताए । जसपा नेपाल परित्याग गरी जिल्लास्तरका नेता÷कार्यकर्ता जसपामा प्रवेश गरेका थिए । मन्त्री यादवको उपस्थितिमा भएको पार्टी प्रवेश कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीलगायत जनप्रतिनिधि पनि उपस्थिति रहेका थिए ।

Comment


Related News

Latest News

Trending News