अपडेट 
२०८१ कार्तिक १२, सोमबार १८:५६

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

यही कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार भाेलिदेखि शुरू हुँदैछ । भाेलि धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने पर्सि बुधवार परेको छ । कागतिहार पनि बुधवार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधवार नै मनाइन्छ ।

कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीवार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रवार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक १७ गते शनिवार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीवार छठ पर्व परेको पनि समितिले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News