विगत सयवर्षमा मानिसको चेतना लगभग पूर्णरुपमा बदलिएको छ । मानिसको भित्री र बाहिरी परिवेशमा कयौँ खाले भ्रमहरुले मानवीय मनलाई अनुकूलित गरिरहेको छ ।
विशेष गरेर हाम्रा प्राचीन शास्त्रीय ज्ञान परम्परा तथा अन्तर्वस्तु बारे अर्थपिपासु कथित प्रवचकहरुले मानवीय जीवन र जगतलाई खारेज गरेर तथा दुःखबाट मुक्तिको प्रश्नलाई मानवीय जीवनको भौतिक दुःख अर्थात् भोक, रोग, शोक, शिक्षा, स्वास्थ्य, समग्रमा आर्थिक गरिबीबाट जन्मेको दुःख र अज्ञानबाट मुक्तिको साटो अभौतिक, अलौकिक दैवीय मुक्तिको प्रश्न बनाई दिएका छन् ; र जसरी यस अलौकिक मुक्तिको निम्ती सबैमा भ्रमित चेतना र चिन्तन प्रक्रिया संक्रमित गरिरहेका छन्, त्यसले मानिसको वस्तु जगतको विषयहरु नै बदलीदिएको छ ।
भक्तिरसको मस्ती पिएका सहजमना मानिसहरु अहिले बजार र धर्म दुबैको निम्ती सबैभन्दा सहज उपभोक्ता भएका छन् । दैवी मुक्ति वा ब्रह्मानन्द र परमेश्वरमा लीन हुनुको अनिर्वचनीय सुख भोग्ने लालसामा सहजमन धर्मभीडू समुदाय, अर्को शब्दमा नदेखेको, नजानेको लोकको ‘अवर्णनीय’ सुखको लालसामा यस भौतिक जगतको वास्तविक जीवनको दुःख झन् झन् बढाउँदै गै रहेका छन् ।
अर्कोतिर आफूलाई ज्ञानी र शास्त्रको ज्ञाताको रुपमा प्रस्तुत गरिरहेका ती प्रवचक र महाराजहरु घोर भौतिक जीवन बाँच्छन् ।भव्य र झिलीमिली पन्डाल, मञ्च, भव्य स्वर्णमयताको भान दिने व्यासपीठ,आधुनिक सुविधा सहितका माइकिङ्ग, साजसज्जा, सफल कारोबारी, राजनीति, सिनेमा, खेलकूद लगायतका लोकप्रिय सेलिब्रेटीहरु, प्रवचन कार्यक्रमलाई व्यवस्थित गर्न खटिएको स्वयंसेवकहरुको जमात र बलिउडिया सिनेमाको गीतहरुको नकलमा बनेको प्यारोडी भजन गाउने आर्केस्ट्रा टीम, सबै करोडौँ करोडको लगानीको व्यवसाय हो भन्ने प्रष्ट सहजै देख्न सकिन्छ ।
अझ प्रवचक महोदयको प्रवचन विज्ञानको दृष्टिले त बेकारको हुन्छ नै, उनले सन्दर्भ भनिरहेको शास्त्रहरुमा उल्लेखित विषयवस्तु भन्दापनि भिन्न हुने गरेको हुन्छ । तर यो भक्ति र मोक्षको तर्कहीन लालसा नै हो, जसले आँखा अगाडी घटिरहेको परिदृश्यहरु बारे तर्कसंगत दृष्टिले हेर्नबाट वञ्चित गराउँछ । भौतिकीय आँखाले देखेपनि ज्ञानचक्षुको उल्टो दिशाको कारण वास्तविकता देखिँदैन, वा देख्न आवश्यक ठानिँदैन । यो अज्ञानतालाई ज्ञान भन्ने भ्रम हो । यो सहजमन मानिसको अुनकूलन हो ।
हाम्रो प्राचीनकाल र मध्यकालमा भएका ज्ञानका विमर्शहरु सम्म पुग्ने बाटोमा ज्ञानका स्रोतहरु नै बदलिएका छन् । वेद, उपनिषद्, न्याय, मिमांसा, सांख्य, महाभारत, रामायणसम्म पहुँच आम मानिसको निम्ती सहज छैन । यसको निम्ती अब व्यावसायिकरुपमा तयार पारिएका पाठ्यपुस्तक पढेका प्रवचकहरु रधार्मिक टीभी सिरियल र क्यासेटहरु छन्, जसले बढीभन्दा स्रोता र दर्शक जुटाउन ज्ञान र कर्म सबै विषयलाई भक्तिको चासनीमा आफु खुशी प्रस्तुत गर्छन् ।
यो अनुकूलित स्थिति कुनै एउटा समुदाय वा सम्प्रदायमा होइन, सबै सम्प्रदायमा देखिन्छ । वेद, पुराण, कुरान, बाइबल सबै मतमा ज्ञान प्रसारको यो रकमी तरिका प्रचलित छ र यस्को केन्दमा अर्थलाभ हुने गरेको छ । उपनिषद्कालीन ज्ञान विमर्शहरु, बुद्ध र जैनका धम्मस्थलहरु, मस्जिदहरु आरभ्किकालमा शान्तस्थल र एकान्तिक हुने गर्थे । तर व्यावसायिकताको कारण अहिले धार्मिक ज्ञान विमर्शका स्थलहरु, पूजास्थलहरु सबैभन्दा अशान्त र होहल्लाका केन्द्र बनिरहेका छन् । हरेक सम्प्रदाय र आध्यात्मिक मतमा विवेकशील र तार्किकको साटो तर्कलाई निषेध गर्ने आफ्नो मत मात्र श्रेष्ठ भन्ने आक्रामक अन्धभक्तको संख्या बढदै गैरहेको छ ।
यस अन्धभक्तिको आक्रामकताले समाजलाई असहिष्णु बनाउँदै गै रहेको छ, र सामान्य जीवन बाँच्ने मानिसहरुको जीवन झन् झन् त्रासदपूर्ण, वर्षौँवर्षदेखि संगै बस्दै आएकाहरु बीच सन्देह र अविश्वासपूर्ण, भय, एक अर्कामा असुरक्षा र असहिष्णु बन्दै गैरहेको छ । र यस खेलबाट बजार, धर्म र सत्तामुखी राजनीति, तीनवटै तत्वले फाइदा उठाउँदै छन् । सही ज्ञानको अभावमा सामाजिक चेतना मानवीयताबाट अलगावको दिशामा खतरनाक किसिमले अग्रसर हुँदैछ ।
एउटा शिशुले जति जति आफ्नो परिवेश, आफन्त, बाहिरका र जगतलाई चिन्दै जान्छ, उसको भौतिक ज्ञान बढदै जान्छ ; भौतिक ज्ञानको पटक पटकको व्यवहारले उसको तार्किक र विश्लेषणात्मक ज्ञानको आयतन (क्षेत्र) बढदै जान्छ, उसको ज्ञान सूक्ष्म हुँदै जान्छ , त्यतित्यति उसको भौतिकता, आफ्नो परिवेश र भित्री बाहिरी भौतिकता र अभौतिकता बारे प्रश्नहरुको जवाफमा वैज्ञानिकता र तथ्यसंगत सटिकता बढदै जान्छ । हाम्रा शास्त्रहरुमा वर्णित ज्ञानपनि त्यस्तै हुन् ।
प्रारम्भमा मानवसमुदायको सामू प्रकृति, मानिस, जीव जन्तुहरु बारे, यो किन छ ? कसरी छ ? कहाँ बाट आयो ? भन्ने असंख्य प्रश्नहरुथियो । तर उनीहरुसंग यस्को समुचित जवाफ थिएन । मानवीय समुदायले यस जगतलाई जति अभ्यास ग¥यो, भोग्यो, भ्रमण ग¥यो, प्रकृतिको चक्रको नियमित अभ्यास ग¥यो, ज्ञान क्रमशः विकसित हुँदै गयो । यी प्रारम्भिक जिज्ञासाको जवाफ दिनु, तत्कालीन समाजका अगुआ र बौद्धिक जमातको दायित्व थियो । उनीहरुले केही आफ्ना भोगाई र केही अनुमानको आधारमा जवाफ दिए । तपाँईले शास्त्र, पुराण, कुरान, बाइबलका व्याख्याकारहरुका मिमांसा, टीका र नयाँ विवेचनाहरु पढनु भयो भने, फरक फरक पाउनु हुनेछ ।
यसको कारण हो, समयक्रममा जगतको भोगाई र जान्नुमा कयौँ अनुमानित जवाफहरुलाई समयानुकूल बनाउँदै लग्नु । ऋग्वैदिककालको प्राकृतिक प्रजापति बृहदारण्यकमा अद्वैत चैतन्यमय सर्वशक्तिमान ब्रह्म भयो, रुद्र र शैवमतको विकास भएपछि ब्रह्म वर्चस्वादी ईश्वरमा परिणत भयो, भागवतधर्मको विकासपछि ईश्वर सर्वव्यापी सर्वशक्तिमान मोक्षदायक परमेश्वरमा परिणत भयो, लामो समयसम्म ईश्वर र परमेश्वरका पक्षधरहरु एक आपसमा भौतिक र वैचारिक द्वन्द्वमा रहे, लेखटालखेट गरिरहे, फेरी एउटा समन्वयको स्थिति सृजना भयो र ब्रह्म, ईश्वर र परमेश्वर सबै आपसमा पर्यायवाची बने ।
यस सारा उथलपुथल र द्वन्द्वको कारण राज्यसत्ताको जन्म र वर्चस्वको झगडा थियो । हाम्रा प्राचीन ग्रन्थहरुको अध्ययन गर्ने हो भने यो तथ्य सहजै बुझ्न सकिन्छ । तर भक्तको मन छ, जस्ले यी सारा झन्झट त्यागेर शरणागति खोज्छ । उसले ज्ञानको सर्वोच्च तर्कहीन शरणागतिलाई बुझेको छ । वस्तुतः प्राचीनकालीन विविध जिज्ञासाबारे वैज्ञानिक दृष्टिले कयौँ उत्तरहरु छन्, जो अर्थहीन भैसकेको छ, तर जड चेतनाले यो स्वीकार्न चाहँदैन ।
विशेष गरेर मध्यकालमा शंकराचार्यको अद्वैतवादी मतले जसरी वेद बाहेकका सबै विचारहरुलाई बलपूर्वक निषेध गरे, त्यसले दक्षिण एसियाली समाजमा विमर्श वा शास्त्रार्थको परम्परा नै समाप्त गरियो दियो । यसले समयानुकूल नयाँ विचारहरुको विकास र सामाजिक अग्रगामी गतिशीलतालाई अवरुद्ध ग¥यो । तार्किक ज्ञान निषेध भए र शरणागति वा भक्ति मूख्य भयो ।
कतिसम्म भने शंकराचार्यको अद्वैत वेदान्तको मतलाई खण्डन गरेर द्वैत वेदान्त र विशिष्टाद्वैत मतहरुपनि उस्तै जड र भक्ति परम्परामा नै विकसित भयो । ‘तर्क छोड, सबै मेरा शरणमा आउ, म मुक्ति, मोक्ष दिनेछु, परम ब्रह्मसंग साक्षात्कार गराउने छु ।’यो भ्रम नै हो जस्ले ज्ञानको अभावलाई नै ज्ञानको रुपमा सम्प्रेषित गर्छ । हाम्रो युगको महान वैज्ञानिक स्टिफेन हकिङग्सले भने जस्तै : ‘दुःख ज्ञानको अभाव हुनु होइन, ज्ञानको भ्रम हो’ । वास्तविकको ज्ञानको तार्किक र विवेकशील परम्परा अहिले मात्रै छ, भन्ने होइन । यो जतिबेला तर्कविहीन वैचारिकता अर्थात प्रत्ययवादी विचार जन्मेको हो, त्यतिबेला देखी नै हो । प्रकृति, जगत र मानवकेन्द्रित चिन्तन र व्यवहारलाई खारेज गर्ने आध्यात्मिक विचार र चिन्तनको विरुद्ध शुरुदेखी नै प्रतिरोधी मत देखिँदै आएको हो ।
वस्तुतः प्राचीनकालीन ऋषि र आचार्यहरु मध्ये धेरैले ज्ञानलाई तार्किक, जगतमय र सरलबाट जटिलताको दिशामा विकास हुँदै जाने, भनेका छन् । वेद विराधी नास्तिकधाराका बुद्ध, जैन र चार्वाकहरुले त ज्ञानको अलौकिकतावादी दृष्टिको विरुद्ध जाने नै भए, वैदिक वाङ्गमयभित्रकै सांख्य, न्याय र वैशेषिक जस्ता दार्शनिक मतहरुले ज्ञान र बुद्धिलाई भौतिक र मानवीय प्रयत्नबाट प्राप्त हुने भनेका छन् ।
आध्यात्मिक आचार्यहरुले त्रयी (ऋग्, साम र यजुःवेद)भन्दा स्वतन्त्र ज्ञानको अनुमति दिएका छैनन् । तर कौटिल्यका अनुसार प्राचीनकालमा स्वतन्त्र विचारलाई आन्वीक्षिकी भनिन्थ्यो । कपिल, कणाद र गौतम जस्ताले वैदिक धाराभित्रपनि यसलाई समर्थन गरेका छन् । न्याय दर्शनका आचार्य गौतमका अनुसार ज्ञान, बुद्धि र उपलब्धिको पर्यायवाची छ । त्यसरी नै आचार्य कणाद्ले वैशेषिक दर्शनमा ज्ञान, बुद्धि र उपलब्धिसंग प्रत्यय वा विचारलाई पनि जोडेका छन् ।
ज्ञानको बारेमा सांख्य योगको दृष्टिकोण अत्यन्त महत्वपूर्ण र मानवीय चरित्रको छ । सांख्यका मूख्य रचनाकार महर्षि कपिलको विचारमा ज्ञान प्रक्रियामा सबैभन्दा पहिले इन्द्रियको माध्यमबाट विषय (जगत)को सम्बन्ध मनसंग हुन्छ, त्यसपछि मन यी विषय सम्वेदनालाई बुद्धिसम्म पु¥याउँछ । विषयको सम्पर्कमा आएर (व्यवहार) बुद्धि विषयको आकार ग्रहण गर्छ । महर्षि कपिलको सांख्यको एउटा उल्लेखनीय पक्ष के छ भने उनले जगतको अस्तित्वलाई मूख्यतः २४वटा तत्वमा आधारित भनेका छन् ।
उनले पूरकको रुपमा मात्रै २५औँ तत्वको रुपमा ईश्वरलाई राखेका छन् । ज्ञानबारे कपिल, कणाद् र गौतमको चर्चा गर्नुको उद्देश्य के हो भने तत्कालीन समयमा समाजमा वैचारिक पक्ष र प्रतिपक्षको बीचका बहस, विमर्श र प्रतिरोध सबै सहज र स्वीकार्य थियो, सहिष्णु थियो । यसले समाजलाई समयानुकूल अग्रगामी दिशामा विकसित हुन मद्दत गरेको थियो ।
तर जतिबेला देखी दार्शनिक मतहरु जड धार्मिकतामा परिणत भए, ज्ञानका धाराहरु अवरुद्ध भए र समाज संकीर्ण र असहिष्णु बन्दै गयो । बीसौँ शताब्दीमा भएका विविध वैचारिक र राजनीतिक संघर्षहरुले बसुधैव कुटुम्बकम र मानवीय चिन्तनहरुलाई प्रोत्साहित गरेको थियो । तर विगत सयवर्षमा साम्प्रदायिक असहिष्णुता बढदै गएको देखिन्छ ।
यसमा सबैभन्दा ठूलो खेल ज्ञानको क्षेत्र र विषय नै बदलिदिनु हो । अहिले प्रवचकहरु, संकीर्ण धर्माचार्यहरु, बजार र राजनीतिपनि ज्ञानको यस हेराफेरी र भ्रमित ज्ञानको प्रसारमा व्यस्त देखिन्छ । सारमा यो बजार, धर्म र राजनीतिको संयुक्त सत्ता हो, जो सर्वव्यापी वर्चस्वको प्रयत्नमा छ । जनसामान्यको दुःखको एउटा स्थायी र प्रमुख कारण योपनि हो । भ्रमबाट मुक्त होउँ, मानवीय होउँ, सहिष्णु होउँ । अस्तु ।