अपडेट 
२०८१ कार्तिक १८, आईतवार २०:२५

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा बजारस्थित धर्मशालामा जुवा खेलिरहेका ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीको निर्देशनमा शनिबार राति १ बजे प्रहरी निरीक्षकको टोलीले जुवाखालमा छापा मारेको थियो ।प्रहरीले धनुषाको बिभिन्न स्थानका लगायत उदयपुर, रौतहट जिल्लाका जुवाडेहरुलाई पक्राउ गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ सखुवा बजारको बाख्रा बाजार लाग्ने स्थानमा रहेको धर्मशालाको पहिलो तल्लामा जुवा खेलाइने गरिएको थियो ।त्यसका लागि धर्मशाला सञ्चालकहरुले समेत कमिसन लिने गरेको स्रोतले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक(इन्सपेक्टर)सोनी साहको संरक्षणमा केहि समयदेखि निरन्तर जुवा खेलाइने गरिएको थियो ।स्रोतका अनुसार जुवा खेल्ने हरेक दिनको ८० हजार रुपैया इन्सपेक्टर साहले लिने गरेको हो ।

जुवा खेलाउने मुख्य अभियुक्त किसोरी साह विगतमा समेत जुवा खेलाउने अभियोगमा कयौं पटक पक्राउ परेर छुटेका हुन् ।

मिथिला बिहारी नगरपालिकाको तारापट्टी बस्ने किसोरी साह जुवा अड्डा सञ्चालन गर्ने कुख्यात रहेको प्रहरीले जनाएको छ ।

तारापट्टी थानाले किसोरी साहलाई जुवा खेलाउने सहमती नदिएपछि उनले ८० हजारमा इन्सपेक्टर सोनी साहलाई प्रभावमा लिएको स्रोतले जनाएको छ ।जुवा खालमा प्रहरीको अघोषित सुरक्षा रहेको थियो ।

पक्राउ पर्नेहरुमा जुवा खेलाउने किसोरी साह लगायत जुवा खेल्न रौतहटबाट नियमित आउने गरेका जबिरा शाह, उदयपुरका रामरतन कापड, धनुषाका वंशराज नदाफ, बिलटु राइन मिया लगायत ३९ जना रहेका छन् ।

एसपी तिवारीले जुवाखालबाट ९ लाख ७३ हजार ८ सय ७३नगद बरामद भएको पुष्टि गरेका छन् ।जुवा खेलाउन प्रयोग गरिने कौडा र तास समेत बरामद भएको छ । प्रहरीका अनुसार जुवाखालबाट २ गड्डी तास, फलवार प्रिन्ट भएको तास ३ थान, २४ पिस कौडा, सानो ठूलो ३६ थान मोबाइल बरामद भएको छ ।

विशेष सुराकको आधारमा एसपी तिवारी स्वयंले छापा मारेका हुन् ।इन्सपेक्टर साहले छापामारी हुनु अगाडी सुइको समेत पाएका थिएनन् ।
जुवामा पक्राउ परेकाहरुलाई मुद्दा चलाइने छ ।धनुषामा पहिलो पटक यतिको संख्यामा जुवाडेहरुलाई पक्राउ गरिएको हो ।विगतमा किसोरी साह पक्राउ परेपनि जुवाडेहरुको संख्या दर्जन भन्दापनि कम रहने गरेको थियो ।

पटक पटक पक्राउ पर्ने र लेनदेनमा छुट्ने गरेका किसोरी साहलाई जुवा खेलाउन संरक्षण दिएका इन्सपेक्टर सोनी साहले सखुवा महेन्द्रनगर इलाकामा महिला सहितको आर्केष्ट्र नचाउन समेत छुट दिएका छन् ।जिल्ला प्रहरी कार्यालयले जिल्लामा महिला सहितको आर्केष्ट्र नचाउन रोक लगाएको छ ।तर साहले आफ्नो इलाकामा आर्केष्ट््रा नचाउने अनुमति दिन रकम लिने गरेको आरोप लागेको छ ।

Comment


Related News

Latest News

Trending News