सूर्यदेवको पूजा गरिने महाछठ पर्वको ‘नहायखाय’ मंगलबार सम्पन्न भएको छ । चार दिवसीय लामो महाछठ पर्वको विधिवत प्रारम्भ ‘नहायखाय’बाट हुन्छ । छठ पर्वको व्रत बस्ने व्रतालुहरुले लहसुन, प्याज पहिले देखि नै छाडिसकेका छन् । छठ पर्व मनाइने घरमा आइतबारदेखि मद्यमांसको सेवन बन्द भएको छ ।
व्रतालुहरुले ‘नहायखाय’को साँझ सम्भव भएसम्म सरसोको साग, लौका(सजमन)को तरकारी खाने गर्छन् । पवित्र तलाउ, नदी, सरोबरमा स्थानगरी निरामिष भोजन गरेर व्रतको शुभारम्भ गरेका व्रतीहरुले बुधबार दिनभरी उपवास बसी साँझ खरना गर्ने छन् । साँझ मिठा(सख्खर)को खिर, बिभिन्न फलफुल, उखु, तरकारीलगायतका सामग्रीहरु सहित भगवानलाई पूजा गरी परिवारलगायत आफन्तजनहरुले प्रसाद ग्रहण गर्छन् ।
व्रतालुहरुले खरनाको प्रसाद ग्रहण गरी सकेपछि छठी मइया(षष्ठी) को सँध्या अर्घ र सप्तमीको प्रातःकालिन अर्घका लागि निराहार व्रत बस्छन् । खरनादेखि सप्तमीसम्म व्रतालुहरुले झण्डै ३६ घण्टा उपवास बस्छन् । छठ पर्वमा प्रायः घरका श्रेष्ठ महिला उपवास बस्ने गर्छिन् । पुरुषहरु पनि उपवास बस्ने गर्छन् । तर उनीहरु प्रायः अर्घ दिदैनन् । पानीमा उभिएर अस्ताउँदो सूर्यको पूजा र उदाउँदो सूर्यको पूजा पुरुष व्रतालुहरुले पनि गर्छन् । उपवास बस्ने पुरुषको संख्या भने न्यून हुन्छ ।
छठ पर्वमा परिवारका सबै सदस्यको भूमिका हुन्छ । सबै सदस्यले काम पाएका हुन्छन् । छठ पर्वमा अर्घ दिने पूजा सामग्री घाटसम्म पु¥याउने देखि घाट सजाउनेसम्म परिवारका सदस्यहरु जुटेका हुन्छन् । छठ पूजा गरिने पोखरी, तलाउ, नदीलगायतका जलाशय सजाउने काम अन्तिम चरणमा पुगेको छ । घाटहरुलाई बेहुलीको घर झैँ सजाइएको छ ।
जलाशयहरुको साथै वरिपरीको क्षेत्र सरसफाइ गरी सजाइएको छ । हरेक वर्ष छठ पूजाका लागि जलाशायहरु थपिने गरिन्छ । आस्थाको महापर्व छठ गर्ने परिवारको संख्या पनि हरेक वर्ष बढ् ने भएकाले जलाशयपनि थपिने गरिएको छ । छठ पर्व आस्था र श्रद्धा पूर्वक मनाइन्छ । जनकपुरघामको गंगासागर, अंगराजसर सागर, धनुषसागर, दशरथ तलाउ, बिहारकुण्डलगायतका सरोवर र तलाउहरु सजाइएको छ ।ग्रामिण भेगमा पनि जलाशयहरु सजाइएको छ ।
केही वर्ष पूर्वसम्म सहरका जलाशयहरुमा मात्र राति घाटमा पूजा सामग्री राखिने गरिन्थ्यो । तर अहिले ग्रामीण भेगमा पनि राति पूजा सामग्री घाटमा नै राखिने गरिन्छ । पछिल्लो समय सहरको भन्दा ग्रामीण भेगमा छठको भव्यता बढेको छ । रातभर जाग्राम र नाचगान ग्रामीण भेगमा हुने गरेको छ । छठ पर्व वीरगञ्जको घडिअर्वा पोखरी, बागमती र कमला नदीमा पनि भव्य रुपमा मनाइन्छ ।
छठ पर्वको तयारी अन्तिम चरणमा पुगेसंगै बजारमा भारी भीड देखिएको छ । पूजा सामग्रीहरु खरिदका लागि श्रद्धालुहरुको ठूलो भीड बजारमा लागेको छ । अबेर रातिसम्म बजारमा कारोबार भएको छ । लत्ताकपडाका पसल, फलफूल, मिठाइका पसलहरुमा श्रद्धालुहरुको भीड लागेको छ ।
बजारमा बढेको भीडको कारण ट्राफिक व्यवस्थापन समेत प्रभावित भएको छ । केरा लगायतका फलफूल र पूजा सामग्रीको रुपमा प्रयोग हुने तरकारीको पनि मूल्य बढेको छ । छठ पर्वमा अधिकांश सामग्री कृषिजन्य हुने गरेको छ । किसानहरुको आफ्नै खेतबारीमा उत्पादित वस्तुहरु छठको मुख्य प्रसाद मानिन्छ । ठेकुवा, भुसुवालगायतका मुख्य प्रसाद पनि किसानको आफ्नै खेतबारीको उत्पादन हो । किसानले उब्जाएको उखु, निम्बु, पान, भण्टा, मुला, केरा, नरिवललगायतका वस्तुहरु छठको प्रसाद हुन्छ ।
भगवान सूर्यको प्रकाश किसानका लागि वरदान भएकाले खेतबारीको पहिलो उत्पादन छठमा अर्घ दिने गरिन्छ । विगतमा तराई मधेशमा मात्र मनाइने छठ पर्व अब राष्ट्रिय स्वरुप ग्रहण गरिसकेको छ । नेपाल सरकारले छठ पर्वको अवसरमा एक दिन राष्ट्रिय विदा पनि दिन थालेको छ । देशका तराई, मधेश, हिमाल र पहाडमा समेत छठ पर्व मनाउन थालिएको छ । संघीय राजधानी काठमाण्डुमा समेत छठ पर्व भव्य रुपमा मनाइन्छ ।