महोत्तरीको टुटेश्वरमा टिपरले ट्रैक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको बर्दिवास–५ स्थित टुटेश्वरको जंगलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् । माईस्थानबाट सर्लाहीतर्फ जाँदै गरेको ना ४ त ६८२३ नम्बरको ट्रैक्टरलाई ना ८ ख ३१६ नम्बरको टिपरले शुक्रबार राति पछाडिबाट ठक्कर दिँदा सर्लाही ईश्वरपुर–१२ का ३७ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको छ ।
ठक्करबाट महोत्तरी बर्दिवास–७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर–१२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए । घाइते तीन जनाको स्थानीय शुभस्वास्तिक अस्पतालमा भर्ना गरिएको महोत्तरी प्रहरीले जनाएको छ । उनीहरुको टाउको, छाती र कम्मरमा चोट लागेको छ । मृतक र घाइतेहरू सबै ट्रैक्टरको ट्रेलरमा बसेर सर्लाहीतर्फ जाँदै थिए ।
दुर्घटनामा संलग्न दुवै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।