सर्लाही–सिन्धुली सीमा क्षेत्रमा अज्ञात समूहले प्रहार गरेको गोली लागेर मकवानपुरको एक विद्यालयका प्रधानाध्यापक घाइते भएका छन् ।
उनको गालामा गोली लागेको जनाइएको छ । सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ स्थित वापसी खोला भन्ने स्थानमा अज्ञात समूहले प्रहार गरेको गोली लागेर मकवानपुरको बाग्मती गाउँपालिका–१ बोटगाउँका ४० वर्षीय प्रेमबहादुर बम्जन घाइते भएका छन् । उनी मकवानपुरको बकैया गाउँपालिकास्थित बुद्ध माविका प्रधानाध्यापक छन् ।
बकैया मोरङे चिसापानीस्थित भिनाजु ज्ञानबहादुर लामाको घरमा पुजा सकेर प्र.२–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकल चढेर रौतहट, सर्लाही, सिन्धुली सिमा हुँदै घर फर्कदै गर्दा गौडा कुरेर बसेका ३ जनाको समूहले एक्कासी गोली प्रहार गरेका थिए । गोली लागेर प्रेमबहादुर घाइते भएको स्थानीय दिलबहादुर बम्जनले बताए ।
प्रेमबहादुरसँगै दिलबहादुर पनि भिनाजुको घरबाट फर्कर्दै थिए । दिलबहादुरका अनुसार मोटरसाइकलमा घर फर्कर्दै गर्दा वापसी खोल्सी भन्ने स्थानमा पेस्तोल बोकेका तीन जनाले मोटरसाइकल रोकेर साइड लगाउन भनेका थिए । त्यसपछि नगद र समान के–के छ भनेर माग गरेका थिए । त्यही बेला प्रेममाथि गोली प्रहार भएको उनले सुनाए ।
घाइते प्रेमबहादुरलाई सर्लाहीको कर्मैयास्थित मोडेल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

