अपडेट 
२०८१ कार्तिक २८, बुधबार ०७:४६

मधेश प्रदेशमा रौतहट जिल्लाको ३ वटा पालिकाको ३ वटा वडामा उपनिर्वाचन हुँदैछ । मधेश प्रदेशमा कुल ७ वटा वडामा अध्यक्षका लागि उपचुनाव भइरहेको छ । रौतहट जिल्लाको गढीमाई नगरपालिकाको वडा नम्बर ८, इशनाथ नगरपालिकाको ७ र राजपुर फरहदवाको वडा नम्बर ६ मा वडा अध्यक्षको चुनाव मंसिर १६ गते हुनेछ । चुनावको तिथि नजिकिएसँगै राजनीतिक दलहरुले उम्मेदवारको छनोट गर्नेदेखि सभा गर्नेमा नेताहरु लागेका छन् ।

निर्वाचित वडा अध्यक्षको मृत्यु भएको कारण वडामा उपचुनाव हुन लागेको छ । रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ८ को उपचुनावमा जनता समाजवादी पार्टी (जसपा) नेपालले उम्मेदवार बनाउन नेपाली कांग्रेसका एकजना युवा सन्देश यादवलाई पार्टीमा भित्र्याएको छ । स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहित सबै ४ जना सदस्यसमेत जसपाले जितेको थियो । तर वडा अध्यक्ष रामाध्या प्रसाद यादवको मृत्यु भएपछि हुन लागेको उपचुनावमा प्रतिष्ठा जोगाउन जसपालाई चुनौती छ ।

जसपा नेपालले कांग्रेसबाट पार्टीमा प्रवेश गराएका सन्देश यादवलाई नै उम्मेदवार बनाउने निश्चित छ । उनलाई पार्टीमा प्रवेश गराउन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव दुई जना पूर्व मुख्यमन्त्री लालबाबु राउत र सरोजकुमार यादव सहित पुगेका थिए । यादव सोमबार जसपा नेपालमा प्रवेश गरेको र उनलाई नै उम्मेदवार बनाइने मधेश प्रदेशका पूर्व राज्यमन्त्री समेत रहेका जसपा नेपालका केन्द्रीय सदस्य योगेन्द्र यादवले जनाए । ‘सन्देश यादव प्रभावशाली युवा नेता रहेकाले उनी नै चुनाव जित्ने पक्का छ ’ यादवले भने, विगतमा सबै सिट जसपाले जितेको वडा रहेकाले भारी मतले सन्देश यादव जित्ने छन् । तर जसपा नेपालबाट वडाअध्यक्षमा निर्वाचित यादवकी पत्नी ज्युति देवी नेकपा एमालेमा प्रवेश गरिसकेकी छन् ।

पतिको निधन भएपछि जसपा नेपालका नेताहरुले बेवास्ता गरेपछि पार्टी छाडेकी बताउने ज्युति देवी एमालेकाबाट वडा अध्यक्षको उम्मेदवार रहेकी छन् । एमालेले उनलाई वडाअध्यक्षको उम्मेदवार बनाउने वाचा गरेर पार्टी प्रवेश गराएको थिए । ज्युति देवी मृतक वडा अध्यक्षकी विधवा रहेकीले सहानुभूति पाएर जित्नेमा एमालेका नेताहरु ढुक्क छन् ।

वडा अध्यक्षमा यादव पार्टीको भन्दा आफ्नो व्यक्तिगत प्रभावको कारण निर्वाचित भएकाले उनको सहानुभूति ज्युति देवीसित रहेको दावी एमालेको छ । जसपा नेपाल र एमालेले उम्मेदवारको सार्वजनिक घोषणा गरिसकेपनि अन्य दलहरुले औपचारिक रुपमा उम्मेदवारको चयन गरिसकेको छैन ।

यद्यपि नेकपा एसले प्रमोद यादवलाई उम्मेदवार बनाउने निश्चित छ । प्रमोद यादवले चुनावको टिकट पाउने विश्वासका साथ मैदानमा उत्रिसकेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको संसदीय निर्वाचन क्षेत्र समेत रहेकाले उनले आफ्ना उम्मेदवारलाई निर्वाचित बनाउन हरसम्भव प्रयास गरिरहेका छन् । नेता नेपालको निकट मानिने प्रमोद यादवले नै चुनाव लडने नेकपा एसका नेताहरुले बताउन थालेका छन् । तर औपचारिक रुपमा उम्मेदवारको घोषणा गरिएको छैन ।

गढीमाई नगरपालिकाको वडा नम्बर ८ को उपचुनावलाई नेताहरुले प्रतिष्ठाको विषय बनाएका छन् । उनीहरुले जसरी पनि चुनाव जित्ने विश्वास कार्यकर्तालाई दिलाउँदै परिचालन गरेका छन् । नेपाली कांग्रेस मधेश प्रदेशका सभापति समेत रहेका संसदीय दलका नेता एवं पूर्व प्रदेश मन्त्री कृष्णा यादवको पनि गृह वडा नम्बर ८ नै हो ।

कांग्रेसले सुबोध यादवलाई उम्मेदवार बनाउने निश्चित छ । औपचारिक रुपमा घोषणा नभए पनि सुबोध यादव नै उम्मेदवार हुने निश्चित भइसकेको छ । कांग्रेसका प्रदेश सभापति यादवका लागि वडा अध्यक्षको उप चुनाव जित्नु आवश्यक छ । आफ्नै घर भएको वडामा चुनाव जित्न नसके उनको विपक्षीहरुले पार्टीमा आलोचना गर्ने छन् । हुन त सभापति कृष्णा यादव वडाको उपचुनावमा कांग्रेस जित्नेमा विश्वस्त देखिएका छन् । तर कांग्रेसबाट टिकट नपाउने भएपछि जसपा नेपालमा प्रवेश गरेका सन्देश यादव टाउको दुखाइ बनेको छ ।

रौतहट जिल्लाका चर्चित नेता एवं आम जनता पार्टी(आजपा) का अध्यक्ष प्रभु साहले वडामा उम्मेदवार दिने विषयमा धारणा सार्वजनिक गरिसकेका छैनन् । आजपाले उम्मेदवार उठाए चुनाव थप पेचिलो बन्नेछ । गढीमाई नपाको वडा नम्बर ८ मा यादव मतदाताको बाहुल्यता रहेको छ । त्यही भएर हालसम्म सबै दलले यादवबाट नै उम्मेदवार घोषणा गरेका छन् ।

राजपुर फरहदवाको वडा नम्बर ६ र इशनाथ नगरपालिकाको वडा नम्बर ७ को चुनावलाई पनि नेताहरुले महत्वका साथ लिएका छन् । तर गढीमाई नगरपालिकाको वडा नम्बर ८ जस्तो प्रतिष्ठाको विषय अन्य वडालाई बनाइएको छैन । संघीय र प्रदेश सत्तामा रहेका दलहरु वडाको चुनाव छुट्टाछुट्टै रुपमा लडिरहेका छन् ।एक दलले अर्को दललाई कमजोर देखाउँदै सत्ता गठबन्धनमा रहेका दुई प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसलाई पनि अन्य दलहरुले सहयोग गर्ने संभावना देखिएको छैन ।

Comment


Related News

Latest News

Trending News