धनुषा–सिरहा जोड्ने कमला नदीमा निर्माणाधिन पूल भासिएपछि बाँसको लचका बनाएर यात्रुहरु आवतजावत गरिरहेका छन् । लामो समयदेखि सो बाँसको लचका हुँदै पैदल यात्रुहरुसमेत आवतजावत गरिरहेका छन् ।
पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत कमला नदी तर्न बनाइएको बाँसको खम्बा र प्लाइउडबाट बनाइएको लचकाबाट दिनहुँ करिब एक हजार सवारीसाधनसहितका यात्रुहरु ओहोरदोहोर गरिरहेका छन् । नदीमा ठूलो पानी बगिरहेकाले मोटरसाइकल, साइकल र पैदल यात्रुका लागि सो पुल तर्न निकै सहज भएको छ । तर सो बाँसको लचका पनि जोखिमपूर्ण यात्रा रहेको छ ।
सिराहा–धनुषाको सीमामा रहेको कमला नदीको सिराहातर्फ पूर्वी भागमा सिराहा नगरपालिकाले बनाएको सो अस्थायी पुलबाट नदी तर्दा मोटरसाइकलचालकसंग भने २० रुपैयाँ शुल्क लिने गरिएको खटिएका कर्मचारीले बताए पनि सो पुलबाट आवतजावत गर्ने यात्रुहरुसंग मनोमानी शुल्क असुल्ने गरेको एक यात्रुले बताए ।
अस्थायी पुल वडा कार्यालयमार्फत निर्माण गरिएको सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जनाए । करिब दुई लाख रुपैयाँ लागतमा निर्माण गरिएको सो पुलबाट दैनिक दुई सय वटाभन्दा बढी मोटरसाइकल वारपार भइरहेको उनले बताए । मोटरसाइकलचालकबाट उठाइएको रकमबाट पुलको सामान्य मर्मत खर्च उठाउने योजना वडा कार्यालयको रहेको छ ।
पुल निर्माणका लागि बाँस, मोटो प्लाई, मजदुरी, डोरी खरिदमा करिब दुई लाख रुपियाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । सिरहा नगरपालिकाले बनाइदिएको अस्थायी पुलबाट तर्न न्यून सेवा शुल्कले सबैलाई सहज भएको पुल तर्दै गरेका सन्तोष साहले बताए । नगपालिकाले न्यून सेवा शुल्क लिएर सञ्चालनमा ल्याएको यस अस्थायी पुललाई नीजिरूरुपमा सञ्चालन गर्दै आएका स्थानीयले बेला बेला क्षति पु¥याउँदै आएको नगरपालिकाले जनाएको छ ।
क्मला नदीमा स्थायी पुल नबनेका कारण हुलाकी राजमार्गबाट सप्तरीको राजविराजदेखि जनकपुरधामसम्मको दुरी करिब ९० किलोमिटर छ । दुईपांग्रे सवारीबाट दुई घण्टामा पुग्न सकिन्छ । ठुलो र चारपांग्रे सवारी पूर्वपश्चिम राजमार्ग भएर १३० किलोमिटर बाटो तय गरेर जनकपुरधाम पुग्नु परिरहेको चारपांग्रे सवारीचालक मनोज दासले बताए । विगत १३ वर्षदेखि कमला नदीमा पुल निर्माण भइरहेको छ । तर निर्माण पूरा भएर कहिले सञ्चालन हुन्छ भन्ने टुंगो छैन ।