अपडेट 
२०८१ मंसिर १, शनिबार ०७:१५

धनुषा–सिरहा जोड्ने कमला नदीमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि कार्तिक पूर्णिमामा धामी झाँक्रीहरु बन्ने धार्मिक विश्वासमा कमलेश्वरी माताको पूजाअर्चनाका अघि स्नान गर्नेहरको घुइँचो लागेको छ ।

कमला नदीमा स्नान गरेपछि पुरुषले पहेँलो रंगको धोती र महिलाले पनि पहेँलो रंगको सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरू हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै भूत खेल्ने गर्दछन् । आ–आफ्ना इष्ट देवताहरूको नाम जप्दै धामी झाँक्री मिर्दङ (मादल), झ्याली, ढोलपिपही जस्ता बाजाको तादमा भक्तहरू कर्कश स्वर उत्पन्न गर्दै कमला नदीमा शपथ ग्रहण गर्न पुगेका छन् ।

धनुषा–सिरहाको सीमामा पर्ने कमला नदीमा धामी झाँक्री, बोक्सा बोक्सी र भूतप्रेतबाट पीडितहरूको आज बिहानदेखि घुइँचो नै लाग्ने गर्छ । सूर्योदयसँगै बिहानै देखि हजारौँ नव धामी झाँक्री कमला नदीको पवित्र जलमा डुबुल्की लगाइ गुरुहरूद्वारा शपथ लिने काम सम्पन्न हुन्छ । बिहीबार रातीबाटै कमलानदी कनारमा भगत (देउता) खेल्नेहरुको घुइँचो लाग्ने गर्छ ।

धामी झाँक्रीहरुसँग रहेका २० देखि २५ को समूहले उनीहरुलाई प्रश्न गर्दै गीत गाउने गर्दछन् । आफ्नो शरीरमा वास बस्न आएका देवतालाई वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायी वासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामी झाँक्री कमला नदीको पवित्र जलमा स्नानगरी शपथका लागि आएका हुन् ।

कमला नदीमा आएर शपथ लिए पश्चात् नव धामीझाँर्कीहरु पाको हुने धार्मिक विश्वास छ । कार्तिक पूर्णिमाका दिन कमला गङ्गालगायतका पवित्र नदीमा नयाँ भगता (जसको जीउमाथि प्रथम पटक देवताको गात) स्थायी हुने र भगताको गुण (तन्त्र शक्ति चल्ने धार्मिक विश्वास धामी झाँक्रीको छ । तन्त्रमन्त्र शास्त्रअनुसार तन्त्र सिद्धिका लागि कार्तिक पूर्णिमाका दिन पूर्णाहुति दिँदा तन्त्र विधा सिद्ध हुने धार्मिक मान्यता रहेको छ । विजया दशमीको आगमनसँगै धामी झाँक्री सक्रिय हुन्छन् । आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सर्वोत्तम मानिन्छ। यस अवधिमा सिकारु धामीहरू राति रातिमा आ आफ्ना गुरुसँग मन्त्र सिक्छन्, काली पूजा अर्थात अमावस्याको राति सिद्धि गर्छन् । देवीदेवताको गान स्थायी होस् भनेर आआफ्नो घरबाट आहुत बोकेर कात्तिक पूर्णिमाको बिहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्ने परम्परा रहेको छ । पवित्र नदीमा प्रथम स्नान धामी झाँक्रीसँग आशिष लिने श्रद्धालुहरूको संख्या पनि उल्लेख्य थिए ।

प्रसादका रूपमा कमला नदीको बालुवा, ढुङ्गा, फूल जे पाए त्यही लिएर श्रद्धालुहरू प्रसन्न हुँदै फर्किन्छन् । सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायत भारतको सीतामढी, दरभंगा, पटनालगायतका विभिन्न स्थानबाट लावालस्कर साथ आउने गर्छन् । यस अवसरमा धनुषाको सबैला नगरपालिकाले आज र कमला नगरपालिकाले हिजो र आज गरी दुई दिनको सार्वजनिक विदा समेत दिएको थियो ।

स्नान गर्ने क्रममा एकको मृत्यु, एक बेपत्ता

धनुषा–सिरहाको सीमास्थित कमला नदीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । सिरहको कर्जन्हा नगरपालिका–१ स्थित उत्तरबाहिनी घाटमा नुहाउने क्रममा मिर्चैया नगरपालिका–५ का १५ वर्षीय लक्ष्मण साहको डुबेर मृत्यु भएको छ ।

कमला नदीमा नुहाउने क्रममा शुक्रबार दिउँसो १२ बजे लक्ष्मणसँगै मिर्चैया नगरपालिका– ५ कै १६ वर्षीय रोशन मण्डल बेपत्ता भएका थिए । त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले उनीहरुको खोजी कार्यमा लागेको छ । खोजी गर्ने क्रममा लक्ष्मण दिउँसो पौने २ बजेमा पानीमा तैरिरहेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए । उनको शव मुचुल्का गरी पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । तर रोशन भने अझैसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

सुरक्षा निकायको विशेष टोली परिचालन गरी उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बाखुले बताए । शुक्रबार कार्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गर्न आउने श्रद्धालु भक्तजनहरुको घुइँचो नै लाग्ने गर्छ ।

Comment


Related News