भारतबाट अवैध रुपमा ल्याउँदै गरिएको १९ रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय धनुषाले ३ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका– १२ स्थित कुवारामपुरबाट स्रोत बिनाको रकमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जनाएका छन् ।
पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी थाना हरलाखी ग्राम पञ्चायत हरलाखी– ८ का बिष्णुदेव यादव, जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ४ का रमेश भन्ने रञ्जित कुमार यादव र धनौजी गाउँपालिका वडा नम्बर ७ भररिया टोलका रवि पासवान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज १२ प ६४३ नम्बर मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गरेको थियो । सो क्रममा विष्णुदेव यादवले शरीरको विभिन्न भागमा रबरले च्यापेर लुकाइछिपाई राखेको अवस्थामा स्रोत नखुलेको रकम बरामद गरेको प्रहरी उपरीक्षक तिवारीले बताए ।
उनीहरुको साथबाट प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँ बरामद गरेको भएको धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक वरुण बहादुर सिंहले जनाएका छन् । आरोपित विष्णुदेवलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्ने क्रममा थप २ जनाको नाम खुल्नासाथ पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए । पक्राउ परेका आरोपितहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँमा निर्वाध रुपमा कारोबार हुने गरेको छ । त्यो रकम अवैध ढंगले नेपाल भित्र्याउँदा प्रहरीले बरामद गर्दै आएको छ ।