अपडेट 
२०७६ चैत्र २२, शनिबार १२:५५

जनकपुरधाम। कोरोना संक्रमणको आशंकामा प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा रहेका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाले पाँचै जनाको नेगेटिभ रिपोर्ट आएको जानकारी दिए। उनीहरुको रिपोर्ट शुक्रबार अबेर आएको हो। प्रदेश २ मा हालसम्म ३८ जनाको नेगेटिभ रिपोर्ट आएको छ। ‘शुक्रबारसम्म ७३ जना शंकास्पदको नमुना परीक्षणका लागि पठाइएको छ, जसमध्ये ३८ जनाको रिपोर्ट आइसकेको छ, सबै नेगेटिभ छ,’ झाले भने। ३५ जनाको रिपोर्ट आउन बाँकी छ।

शंकास्पदको नमुना परीक्षणका लागि प्रादेशिक अस्पतालबाहेक काठमाडौंको टेकु र धरान पठाइएको उनले जानकारी दिएका छन्। सप्तरीबाट परीक्षणका लागि धरान पठाइएका ९ जनाको नमुनामा पनि कोरोना पुष्टि नभएको झाले बताए।

धनुषाको नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा रहेका ११ जनाको पनि रिपोर्ट नेगेटिभ आएको छ। उनीहरुको स्वाब जाँचको लागि टेकु पठाइएको थियो।

झाले भारतको दिल्लीमा धार्मिक सभाबाट फर्केका ३५ जनाको स्वाब परीक्षणका लागि शुक्रबार काठमाडौं पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए। बारा, रौतहट, पर्सा र सप्तरीको विभिन्न क्वारेन्टाइनमा रहेका उनीहरुको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ।

Comment


Related News

Latest News

Trending News