अपडेट 
२०८१ मंसिर ९, आईतवार ०७:३१

पटक–पटकको वार्तालाई बेवास्ता गर्दै शैक्षिक संस्थाहरु लामोसमयदेखि बन्द गरिएको भन्दै जनकपुरधाम उपमहानगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

संस्थागत विद्यालय सञ्चालन नगरिए कारबाही गर्ने चेतावनी जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द लाल कर्णले दिएका छन् । संस्थागत विद्यालयहरुले अनिवार्य तथा निःशुल्क छात्रवृत्तिमा अध्यापन गराउनुपर्ने प्रावधान कार्यान्वयनका लागि विद्यालय र शिक्षण संस्थासम्बद्ध संगठनहरुले रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क मात्रै लिइ पठनपाठन गर्न नसक्ने बताउँदै विद्यालय बन्द गरिएको प्रति ध्यानाकर्षण भएको उपमहानगरपालिकाले जनाएको छ ।

यता विद्यालय र शिक्षण संस्था सम्बद्ध संगठनहरुले वार्ता बिना निष्कर्ष टुंगिएको भन्दै संस्थागत विद्यालय बन्द नै राख्ने भएको छ । तीन दिनदेखि चलेको वार्ताको क्रममा शनिबार आन्दोलनरत हिसान, प्याबसन, एनप्याबसन एमप्याबसनले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी आफूहरुको माग जनकपुरधाम उपमहानगरपालिकाले सम्बोधन नगरेकाले शैक्षिक संस्थाहरु नखोल्ने अडान लिएको छ ।

मेयर मनोज कुमार साहले आन्दोलनरत पक्षले निःशुल्क शिक्षामा पनि शुल्क निर्धारण गर्नुपर्ने अधिकार दिन माग गरेपछि वार्ता निष्कर्षविहीन टुंगिएको प्याबसन जनकपुरधामका अध्यक्ष दीपक ठाकुरले बताए । विगत लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा विद्यार्थी तथा अभिभावकहरु मारमा परेका छन् । तर संस्थागत विद्यालयका सञ्चालकका नेताहरुले सात आठ दिनसम्म विद्यालय बन्द रहे पनि फरक नपर्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिइरहेका छन् ।

आइतबार संस्थागत विद्यालयका सञ्चालकहरु बैठक बसेर आन्दोलनको स्वरुप परिवर्तन बारे निर्णय गर्ने समेत जनाएको छ ।

Comment


Related News

Latest News

Trending News