अपडेट 
२०८१ मंसिर ९, आईतवार १८:४०

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मृत्युपछि मानव अङ्गदान गर्ने दाताका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गर्नुभएको छ ।

यसअघि सरकारले मानव अङ्गदान गर्न चाहने परिवारलाई एक लाख रुपैयाँ दिने गरेको थियो । भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाताका परिवारलाई एक लाख रुपैयाँ थप गर्ने निर्णय गरेको हो ।

मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्राेतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक स्राेतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभयो । यस्तै अङ्गदानमा सघाउने अस्पताललाई यसअघि दिइने ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्‍याएको छ । आफ्नो मृत्यपुपछि अरूको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेको स्वास्थ्यमन्त्री पौडेलले बताउनुभएको छ ।

देशभर हरेक वर्ष मिर्गाैला प्राप्तिका लागि एक हजार जना र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् । अहिलेको कानूनी व्यवस्थाअनुसार रगतको नाता पर्ने बाहेकले अङ्गदान गर्न पाउँदैनन् । तर मृत्युपछि दान दिने गरी अङ्गदान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अङ्ग अरू जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ ।

भक्तपुरको शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले देशमा वर्षेनि दुई सय मिर्गाैला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कुल अङ्ग प्रत्यारोपणको झन्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अङ्ग प्रत्यारोपण गर्दै आइरहेका छन् ।

Comment


Related News

Latest News

Trending News