योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीले समेत स्वास्थ्य उपचारको सुविधा पाउने भएका छन् ।
सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आज भएको कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष ननाघेका छोराछोरीका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक अधिकारीले कोषमा हिजो सोमवारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आबद्ध भएका जानकारी दिनुभयो । उहाँले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबीबापत ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र उनीहरूका परिवारलाई भुक्तानी गरिसकेको पनि बताउनुभयो ।
काेषका कार्यकारी निर्देशक अधिकारीले कोषको दायरा विस्तारका लागि कोषको केन्द्रीय कार्यालयका साथै विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । यही आर्थिक वर्षभित्र कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि कार्यालय स्थापना गर्ने योजना रहेको कोषले जनाएको छ । यी कार्यालय स्थापनापछि कोषको सात वटै प्रदेशमा पहुँच पुग्नेछ ।
सामाजिक सुरक्षा कोषमा अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको सङ्ख्या ९० वटा छ ।