सीताराम विवाहपञ्चमी महोत्सवको तयारीमा जानकी मन्दिर जुटिरहँदा भारतको अयोध्याबाट जनकपुरधामका लागि जन्ती प्रस्थान गरेको छ ।
प्रत्यके पाँच वर्षमा भारतको अयोध्याबाट प्रतीकात्मक रामको जयन्ती जनकपुरधाम आउने गरेको छ । जनकपुरधामका लागि प्रस्थान गरेको जन्तीमा भारतको विभिन्न राज्यबाट आएका साधुसन्तहरुको सहभागिता रहेको छ ।
अयोध्यास्थित रामसेवकपुरम्बाट जनकपुरधामका लागि प्रस्थान गर्नु अघि श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले नारिवल फोडेर जन्तीका लागि विदाइ गरेका थिए । जन्तीहरु साना तथा ठूला गरी एक सयभन्दा बढी जति सवारीसाधन रहेको जनाइएको छ ।
सो सवारीसाधनमा भगवान राम, भरत, सत्रुधन र लक्ष्मणसहित चार जना भाईहरुको स्वरुपसहितका झाँकीसमेत रहेको विश्व हिन्दू परिषद्का अन्तर्र ाष्ट्रिय मन्त्री राजेन्द्र सिंहले जनाएका छन् । अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठापछि पहिलो पटक भगवान रामको जन्ती जनकपुरधामका लागि प्रस्थान गरेको छ ।
भारतको १७ प्रान्तका रामभक्त तथा साधु–सन्तहरु सीताराम विवाहपञ्चमी महोत्सवमा जन्तीको रुपमा सहभागी हुने छ । यही मंसिर २१ गते हुने विवाह पञ्चमीको दिन सीतारामको विवाह सम्पन्न गराउनका लागि तिरुपति बालाजीबाट करिब ४० वैदिक ब्राह्मणको समूह पनि जनकपुरधाम आउने छन् ।
भारतको बक्सर, पटना, काँटी, सीतामढ़ी पुनौराधाम आदि स्थानमा विश्राम गर्दै जन्तीहरुको समूह नेपालको जनकपुरधाम आइपुग्ने छन् । सीताराम विवाहपञ्चमी महोत्सवको परम्परालाई तोड्दै जानकी मन्दिरले पहिलोपटक विश्व हिन्दू परिषद्को अगुवाईमा निमन्त्रणापत्र र तिलकसहितको भार लिएर अयोध्या गएको थियो ।
विगतमा जनकपुरधामस्थित राम मन्दिरमा तिलक लिएर जाने परम्परा रहेको थियो । हिन्दु संस्कार अनुसार हजाममार्फत अयोध्यामा निमन्त्रणा पत्र पठाइने गरिन्थ्यो ।्