अपडेट 
२०८१ मंसिर १३, बिहीबार ०७:४३

मधेश प्रदेशमा चार महिनामा मात्रै १४ जनालाई प्रहरीले हुण्डी कारोबारको आरोपमा पक्राउ गरेका छन् ।

चालू आर्थिक वर्ष ०८१/८२ को चार महिनामा अवैध हुण्डी कारोबार गरेको आरोपमा १४ जना पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट अवैध ९८ लाख २६ हजार ६९० रुपैयाँ बरामद भएको प्रदेश प्रहरीले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार अवैध हुण्डी कारोबारमा पक्राउ परेकाहरूमध्ये ९ जनामाथि मुद्दा दर्ता भएको छ । हुण्डी कारोबारको आरोपमा सबैभन्दा बढी सिराहामा चारजना पक्राउ परेको थियो भने दुईजनाविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरूको साथबाट अवैध रकमस्वरुप ३० लाख १९ हजार ८९० रुपैयाँ बरामद भएको छ ।

त्यस्तै धनुषा र महोत्तरीमा तीन/तीनजना पक्राउ परेका प्रदेश प्रहरी कार्यालयका सूचना अधिकार ीसमेत रहेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।

धनुषामा पक्राउ परेकाहरूको साथबाट १९ लाख रुपैयाँ बरामद भएको छ भने महोत्तरीमा पक्राउ परेकाहरूबाट २९ लाख ८६ हजार आठ सय रुपैयाँ बरामद भएको जनाइएको छ । जसमध्ये धनुषामा एकजना र महोत्तरीमा तीनजनामाथि मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक बोहराले बताए । त्यस्तै रौतहट र बारामा दुई/दुईजना पक्राउ परेका छन् ।

रौतहटमा पक्राउ परेकाहरूको साथबाट ९ लाख रुपैयाँ र बारामा पक्राउ परेकाहरूको साथबाट १० लाख २० हजार रुपैयाँ बरामद भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । रौतहटमा पक्राउ परेका दुईजना र बाराका एकजनामाथि मुद्दा दर्ता भएको छ ।

प्रहरी तथ्यांकले जनाएअनुसार मधेश प्रदेशको सर्लाही, सप्तरी र पर्सा जिल्लामा अहिलेसम्म हुण्डी कारोबारको आरोपमा एकजना पनि पक्राउ परेका छैनन् । प्रहरी उपरीक्षक बोहराले हुण्डी कारोबारमा पक्राउ परेका केहीलाई पक्राउ परेको रकमसहित भन्सार कार्यालयमा पनि पठाउने गरिएको बताए ।

यसअघि गत आर्थिक वर्ष ०८०/८१ मा अवैध हुण्डी कारोबारमा प्रदेशमा २७ जना पक्राउ परेका थिए । जसमध्ये १५ जनाविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए । पक्राउ परेकाहरूको साथबाट एक करोड २६ लाख १५ हजार सात सय रुपैयाँ बरामद भएको थियो भने जसमध्ये भारतीय रकम ९८ हजार रुपैयाँ मात्र बरामद भएको थियो ।

Comment


Related News

Latest News

Trending News