त्रेता युगमा भगवान राम र माता सीताबीच भएको विवाहको सम्झनामा जनकपुरधाममा मनाइँदै आएको साताव्यापी सीता-राम विवाह पञ्चमीको तयारी अन्तिम चरणमा रहेको छ ।
मंसिर शुक्ल पञ्चमी तिथिमा भगवान राम र सीताबीच विवाह भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यस वर्ष मंसिर २१ गते शुक्ल पञ्चमी तिथि परेकाले यही दिन जनकपुरधामस्थित जानकी मन्दिरमा भगवान राम र सीताबीच विधिपूर्वक विवाह समारोह आयोजना गरिएको मन्दिरका छोटा महन्त रोषण दास बैष्णवले जानकारी दिए ।
उनका अनुसार मंसिर १६ बाट वैवाहित कार्यक्रम प्रारम्भ हुनेछ । पहिलो दिन जनकपुर नगर दर्शन, मंसिर १७ मा फूलबारी लीला, मंसिर १८ मा धनुष यज्ञ, मंसिर १९ मा तिलकोत्सव, मंसिर २० मा मटकोर र मंसिर २१ म विवाह (स्वयंम्बर) समारोह आयोजना हुनेछ । मंसिर २२ मा रामकलेवापश्चात विवाह समारोह विधिवत सम्पन्न हुनेछ ।
हरेक पाँच वर्षमा भारतको उत्तर प्रदेशमा पर्ने अयोध्या (राम जन्मभूमि)बाट जनकपुरधाम आउने गरेको जन्ती यस वर्ष पनि आउन लागेको जानकी मन्दिरका छोटा महन्त वैष्णवले बताए ।
उनले भने, ‘अयोध्याबाट करिब ५०० बढी जन्तीको टोली प्रस्थान गरिसकेको छ । उनीहरु धनुष यज्ञको दिन मंसिर १८ गते जनकपुरधाम आइपुग्छन् ।’
यस वर्ष अयोध्याबाट आउन लागेको जन्ती विवाह पञ्चमी उत्सवको मुख्य आकर्षण हुनेछ । छोटा महन्त वैष्णवले जन्ती चार दिन जनकपुरधाममा रहने र रामकलेवापश्चात बिदाई गरिने बताए ।
उनले जन्तीको व्यवस्थापनको सम्पूर्ण प्रबन्ध मिलाइसकेको बताउँदै स्वागत भव्य रुपमा गर्न जनकपुरधामवासीसँग अपिलसमेत गरे ।
विवाह पञ्चमी महोत्सवको लागि जानकी मन्दिरलाई झकिझकाउ पारिएको छ । मन्दिर परिसरमा विवाह समारोहका लागि विशाल पण्डाल र मञ्च तयार गरिँदैछ ।
धनुष यज्ञ रंगभूमि बाह्रबिघा मैदानमा हुने भएकाले सरसफाइ गरिएको छ । ठाउँ-ठाउँमा मिथिला पेन्टिङले जनकपुरधाम सिंगारिँदैछ । मधेश भवनको सडक छेउतिरको पर्खालमा मिथिला पेन्टिङ गर्न दर्जनौं महिला खटिएका छन् ।