अपडेट 
२०८१ मंसिर १५, शनिबार ०८:३६

संगठित रूपमा चोरी, डाँका तथा लुटपाटमा संलग्न गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

महोत्तरीको गौशालामा डेरामा लिएर पेसेवर रूपमा डकैती तथा लुटपाट गर्ने चार जना भारतीय सहित उनीहरूलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा भारतीयहरू- बिहार सितामढी बेला थाना ग्राम पञ्चायत शिवनगर वडा नं. १ फुलहटा घर भई हाल महोत्तरीको गौशाला नगरपालिका ४ निगौल बस्ने वर्ष ३० का डाक्टर भन्ने प्रमोद कुमार साह, उनकी श्रीमती सन्जु देवी साह, सितामढी नगरपालिका जानकीनगर घर भई हाल गौशाला ५ महलिया टोलमा बस्दै आएका ५२ वर्षीय रन्धिर साह र सितामढी वेला थाना विष्णुपुर पञ्चायत बस्ने वर्ष २४ का गोलु भन्ने सुधिर भण्डारी माली छन्।

यस्तै महोत्तरीको गौशाला नगरपालिका ९ बिसरपुरका २८ वर्षीय ललन साह र गौशाला नगरपालिका ६ फुलकाहा बस्ने वर्ष २६ का राकेश कुमार यादव रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए।

लुटेरा समूहले विभिन्न समयमा महोत्तरीको औरही, गौशालाको निगौल, बटौवा, इमली बजार, रजखोरमा हातहतियार देखाएर लुटपाट गरेका थिए।

उनीहरूको साथबाट लुटपाटमा संलग्न रहेको हातहतियार समेत फेला परेको छ। म्यागजिनसहितको पेस्तोल दुई थान, नलकटुवा बन्दुक १ थान, म्यागजिनमा लोड रहेको गोली ५ राउन्ड, र पिँधमा विभिन्न नाम लेखिएको गोली १९ थान बरामद भएको डिएसपी जयसवारले जानकारी दिए।

हातहतियार तथा खरखजनाना, चोरी, डाका (लुटपाट) र संगठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए। प्रहरीले लुटेराहरूबाट मोबाइल, गहना लगायत सामानहरू समेत बरामद गरेको छ।

२८ साउन राति महोत्तरी औरही नगरपालिका ६ स्थित सञ्जय कुमार यादवको घरमा, ५ भदौ राति गौशाला नगरपालिका २ निगौल स्थित पुनम देवीको घरमा, २० भदौ बिहान गौशाला नगरपालिका १० जलिल टोल बस्ने अपसना खातुन र राम बालक राउत कुर्मीको घरमा, २१ भदौमा बिहान गौशाला नगरपालिका ४ रजखोर टोल बस्ने शुशिला देवीको घरमा उनीहरूले चोरी तथा लुटपाट गरेको अनुसन्धानबाट खुलेको हो।

Comment


Related News