महिनौदेखिको तलब नपाएको भन्दै धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका शिक्षकहरु आन्दोलित भएका छन् ।
क्षीरेश्वरनाथ नगरपालिकाको नगरसभा हुन नसक्दा सेवा प्रवाहमा समेत समस्या हुनुका साथै कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलगायतकाले तलब पाउन सकेका छैनन् । तलब पाउन नसकेपछि सो पालिकाका शिक्षकहरुले नगरपालिकाको कार्यालय अगाडि अनिश्चितकालीन धर्ना शुरु गरेका छन् ।
साउन महिनादेखि करिब पाँच महिनासम्मको तलब आफूहरुले पाउन नसकेकाले तलब उपलब्ध गराउनु पर्ने भन्दै धर्नामा बसेको शिक्षक जितेन्द्र यादवले जानकारी दिए । उनले आफूहरुको माग पूरा नभएसम्म धर्ना कार्यक्रम जारी रहने बताए । त्यस्तै धनुषाको लक्ष्मीनिया गाउँपालिकामा पनि तालाबन्दी यथावत रहेको छ ।
सो गाउँपालिकामा विगत ४ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिए पछि तालाबन्दी गरिएको छ । सो गाउँपालिका नेपाली कांग्रेस कार्य समितिले पालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । राजनीति विवादका कारण पालिकाको प्रशासनिकलगायत सम्पूर्ण काम काज ठप्प छ ।
प्रमुख प्रशासकीय अधिकृत सर्वजीत कुमार झा हाजिर भएदेखि नै विवाद उत्पन्न भएको छ । सो गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले नेकपा एमालेका नेता रघुवीर महासेठको हस्तक्षेपको कारणले विवाद उत्पन्न भएको दाबी गरेका छन् । उनले विवाद समाधानको लागि पहल गरिरहेको र चाडै नै समाधान गरी पालिका संचालनमा ल्याइने बताए । सो कारण कर्मचारीहरुले साउन महिनादेखि तलब भत्ता खान पाएका छैन्न भने समाजिक सुरक्षा वितरण कार्यसमेत प्रभावित भएको छ ।


