२०८१ मंसिर १९, बुधबार ०७:१९

साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन भारतको अयोध्याबाट जन्ती आइपुगेको छ । महोत्तरी जिल्लाको मटिहानीमा सोमवार राति विश्राम गरेको जन्ती मंगलबार बिहान पिपरामा भोजन गरी दिउँसो जनकपुरधाम आइपुगेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जनाएका छन् ।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आएका जन्तीलाई महोत्तरीको विभिन्न पालिकामा स्वागत र विदाइ गरिएको थियो । जानकी मन्दिरको तर्फबाट परिसरमा जन्तीलाई स्वागत गरिएको थियो । उनीहरुलाई साधुसन्त, स्थानीयवासी, नागरिक समाज, विभिन्न संघसंस्था, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहसहितका जनप्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित जनकपुरधामवासीले जन्तीको भव्य स्वागत गरे ।

दर्जनौँ गाडीको लावालस्करसहित प्रतीकात्मक श्रीराम, भरत, लक्ष्मण, शत्रुधनसमेत अयोध्याबाट आएका जन्तीहरुलाई भव्य स्वागत गरिएको छ । जनकपुराममा हुने सीताराम विवाहपञ्चमी समारोहमा भाग लिन प्रत्येक पाँच/पाँच वर्षमा अयोध्याबाट जन्ती आउने परम्परा रहेको छ । तत्पश्चात जन्ती रंगभूमि मैदान (बाह«बिघा)को धनुषयज्ञ समारोहमा सहभागी भएका थिए ।

अयोध्याबाट आएको जन्तीको अगुवाई राम मन्दिर ट्रष्टका सचिव चम्पत्त रायले गरेका छन् । जन्तीमा विश्वहिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंह पंकजलगायतका अगुवाईमा जन्तीहरु सहभागी भएका छन् ।

त्रेता युगमा भगवान रामले धनुष भंग गरेको संस्मरणमा रंगभूमि मैदानमा सो समारोहको आयोजना गरिएको थियो । धनुष यज्ञ कार्यक्रममा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव पनि साक्षी बनेका थिए । त्रेता युगमा भगवान् रामले धनुष उचालेर तोडेको स्मरणस्वरुप प्रत्येक वर्षझैँ यस वर्ष पनि मंगलबार धनुष यज्ञ कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार तिलकोत्सव हुनेछ । जानकी मन्दिरबाट बाजागाजा र भार सहित तिलक राममन्दिरमा लगिनेछ । त्यहाँ भगवान रामको पिताको भूमिका राम मन्दिरका महन्त राम गिरि र माता सीताको पिताको भूमिका जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले निर्वाह गर्नेछन् । बिहीबार मटकोर र शुक्रवार विवाह महोत्सव हुनेछ ।

विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ । विवाह महोत्सवमा सहभागितका लागि नेपाल र भारतको विभिन्न स्थानबाट हजारौँको संख्यामा श्रद्धालुहरु यहाँ आइपुगेका छन् । श्रद्धालुहरुको आवास, शौचालय, पिउने पानीको जनकपुरधाम उपमहानगरपालिकाले समुचित व्यवस्था गरेको छ ।

उपमहानगरपालिकाका मेयर मनोज कुमार साहको प्रत्यक्ष रेखदेखमा सौन्दर्यकरण, विद्युतिकरण लगायतको कार्यहरु भइरहेका छन् । अबेर रातिसम्म खट्ने मेयर साह बिहान सबेरैदेखि फेरि दलबल सहित स्वच्छता व्यवस्थापनमा जुटने गरेका छन् । सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ । भारी संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ । सवारीको व्यवस्थापनका लागि नगरको हरेक चोकमा ट्राफिक राखेर मार्गलाई एकतर्फी बनाइएको छ । जानकी मन्दिर क्षेत्रमा सवारी साधनको आवागमनलाई निषेध गरिएको छ ।

गुठी संस्थानको विशेष तयारी पूरा

सीताराम विवाह महोत्सव समारोहमा राम मन्दिरमा तिलकोत्सव, प्रस्थान गरिने जन्ती लगायतको तयारी पुरा भएको छ । गुठी संस्थान जनकपुरधामका प्रमुख आनन्द कर्माचार्यले जनाए अनुसार संस्थान अन्तर्गतको राम मन्दिर र छुट गुठी अन्तर्गतको जानकी मन्दिरको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

विवाह पञ्चमीमा सहभागी हुन आएका जन्तीलाई राम मन्दिर र राजदेवी मन्दिरमा स्वागत तथा विश्रामको व्यवस्थापन र साधुसन्तलाई विदाईसम्मको व्यवस्थामा मुख्य भूमिका गुठी संस्थानको रहँदै आएको छ । गुठी संस्थानले विवाहको आकर्षणको रुप्मा रहेको साधुसन्तहरुको आगमनदेखि विदाईसम्म सम्पूर्ण कार्य गर्ने, सो कार्य मुलतः राम मन्दिर तथा राजदेवी मन्दिरमा हुने गुठीका प्रमुख कर्माचार्यले बताए ।

त्यस्तै तिलकोत्सव कार्यक्रमका लागि तयार गरिने स्टेज, पण्डाल निर्माण कार्यमा सहकार्य, रंगभूमिमा हुने विवाह कार्यक्रममा राम मन्दिरतर्फबाट डोलाको आवश्यक प्रबन्ध, राम मन्दिरमा रहने साधुसन्तलाई आवश्यक भोजन, दाउरा तथा दक्षिणासहित विदाई गरिने, राम मन्दिरमा मन्दिरलाई आवश्यक सम्पूर्ण पूजासहितका सामग्री व्यवस्थापन, राम मन्दिरको चारैतिर विजुली झिलीमिली वत्ति, विवाह पञ्चमीमा आउने दर्शनार्थी भक्तजनलगायतको आगमनमा सम्भव भएसम्म शौचालयको व्यवस्थापन गर्ने, श्रीराम दुलहा पक्षबाट गरिने सम्पूर्ण वैवाहिक कार्यको खर्च कार्यालयबाट हुने र मटकोर कार्यक्रममा श्रीरामजीको तर्फबाट हुने कार्यक्रममा आवश्यक सामग्रीको व्यवस्थापन गुठी संस्थानबाट गरिएको कर्माचार्यले बताए ।

मधेश प्रदेश सरकारले सीताराम विवाहपञ्चमी महोत्सवमा विशेष व्यवस्था गर्ने बताए पनि सरकारको उपस्थिति समेत देखिएको छैन । वैवाहिक कार्यक्रममा प्रदेश सरकारको भौतिक उपस्थिति समेत रहने गरेको छैन ।

Comment


Related News

Latest News

Trending News