संघीय र प्रदेश गठबन्धनको प्रमुख साझेदार नेपाली काँग्रेस र नेकपा एमालेको खिचातानीको कारण धनुषाको तीन पालिकामा उत्पन्न विवाद समाधान गर्ने सहमति भएको छ ।
नेकपा एमालेको कार्यालयमा बिहीबार बसेको बैठकले धनुषा जिल्लाको नगराइन नगरपालिका, लक्ष्मीनिया गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको विवाद सुल्झाउन सहमति गरेको छ । कांग्रेस र एमालेबीच भएको सहमति अनुसार ऐन, कानुन भित्र रहेर योजनाहरुको वितरण र कार्यान्वयन गर्ने प्रमुख रहेको छ ।
विवादित पालिकाहरु मध्ये नगराइनका मेयर विनय कुमार यादव र लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र कांग्रेस पार्टीबाट हुन् । क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुकदेव यादव नेकपा एमाले सम्वद्ध हुन् । नगराइन र लक्ष्मीनियामा कांग्रेसको प्रमुख रहे पनि बहुमत छैन । क्षीरेश्वरनाथमा एमालेको मेयर भए पनि बहुमत कांग्रेसको छ ।
बहुमत भएको दलले मेयरलाई आफ्नो अनुकूल चलाउन चाहँदा विवाद बल्झिएको छ । बहुमतमा रहेका दलका वडा अध्यक्षहरुले मेयरमाथि अंकुश लगाएर बजेट बाँडफाँट गर्न चाहेपछि नगर पारिषद् समेत हुन सकेको छैन ।
लक्ष्मीनियामा प्रमुख प्रशासकीय अधिकृतको पनि विवाद छ । संघीय मन्त्रालयले अनावश्यक रुपमा प्रमुख प्रशासकीय अधिकृत फेर्ने र अदालतबाट थमौतीको ‘स्टे’ आउँदा विवाद हुने गरेको छ ।
नगराइन र क्षीरेश्वरनाथमा प्रमुख प्रशासकीय अधिकृतको विवाद भने छैन । प्रमुख प्रशासकीय अधिकृत पनि लक्ष्मीनियामा विवादको कारण बन्दै आएको छ । बाहिर जे भने पनि भित्री विवाद बजेटको विषयमा नै रहेको छ । नगराइन नपामा विकास योजनाको अनुगमन र उपभोक्ता समिति गठन सम्बन्धमा गरिएको कार्यविधि संशोधन गरी उपमेयरले अनुगमन गर्ने र वडा अध्यक्षको सिफारिसमा उपभोक्ता समिति गठन हुने सहमति भएको कांग्रेसका क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति कन्हैया कुमार कर्णले जनाएका छन् ।
वडा अध्यक्ष, मेयर, उपमेयर, कार्यपालिका सदस्यहरुका लागि बजेट विनियोजन गरिने र सो बजेट सम्बन्धित पदाधिकारीले नै चलाउने पनि बैठकमा सहमति भएको छ । ‘बजेट विनियोजन गरिएका पदाधिकारीहरुले आफ् नो अनुकूल उपभोक्ता समिति गठन गर्नेछ’ बैठकमा भएको सहमति उल्लेख गर्दै कर्णले भने, अनुगमनको काम उपमेयरले नै गर्ने छन् ।
बजेट विनियोजन भएको पदाधिकारीले छनोट गरेको उपभोक्ता समितिलाई नै कार्यादेश दिने एमाले र कांग्रेसका नेताहरु सहमत भएका छन् । उनीहरुले विवादलाई सुल्झाएर विकास निर्माणको कार्यलाई अगाडि बढाउने सहमति गरेका छन् । नेकपा एमाले धनुषा इन्चार्ज समेत रहेकी सांसद जुली महतोको उपस्थितिमा भएको बैठकमा एमालेका राजकिशोर यादव, र नेकाँ धनुषाका सभापति योगेन्द्र पजियार सहित पालिकाका मेयर र प्रतिनिधि वडा अधयक्षहरुको सहभागिता रहेको थियो ।
महिला, स्वास्थ्य, शिक्षा, खेलकुद लगायतको शाखाहरुलाई बजेटमा प्राथमिकता दिने र आयव्यय विवरण सार्वजनिक गरे पनि बैठकमा सहमति भएको नेका धनुषाका उपसभापति गणेश झाले बताए । ‘सम्बन्धित पालिकाका प्रमुखहरुको समेत सहभागितामा सहमति भएकोले कार्यान्वयनमा कठिनाइ आउने छैन’ उनले भने, थप केही विवाद देखिए कार्यदलको माध्यमबाट समाधान गरिने सहमति भएको छ ।
बैठकमा एमालेले कांग्रेसका मेयरलगायतलाई गालीगलौज गर्ने, र कांग्रेसले एमालेका सांसद रघुबीर महासेठलाई गालीगलौज गरेको जस्ता विषय पनि उठेको थियो । तीनै पालिकाको परिषद् नभएको र कार्यालयमा तालाबन्दी गरिएकोले सामाजिक सुरक्षा भत्ता, शिक्षकको तलब समेत अवरुद्ध भएको छ । शिक्षकहरु समेत धर्ना र घेराउमा उत्रेका छन् ।
वडा अध्यक्षहरुले अनेक आरोप लगाए पनि मुख्य विवाद बजेट, कर्मचारी भर्ना लगायतका अनधिकृत सेवा सुविधाको विषयमा छ । वडा अध्यक्षहरुले मेयर सरहको सुविधा खोजेको आरोप छ । वडामा आफू खुशी कर्मचारी राख्ने, बजेट लिनेमा विवाद देखिएको छ । कांँग्रेस र एमालेका जिल्ला नेताहरुबीच भएको सहमति कार्यान्वयनमा भने अझै अन्योल नै देखिएको छ ।
वडा अध्यक्षहरुले राखेका शर्त पूरा गर्न मेयरहरुका लागि सम्भव नरहेको बताइन्छ । कानुन मिचेर दबाबको भरमा बजेट लिने वडाअध्यक्षको मागलाइ सम्बोधन गर्न नसकिने एकजना मेयरले जनाए ।


