सर्लाहीको एक सामुदायिक विद्यालयमा अनियमितताको आरोपमा अभिभावकहरुले एउटै कोठामा शिक्षकहरुलाई थुनेका छन् ।
जिल्लाको गोडैता नगरपालिका–२ स्थित आधारभूत विद्यालयमा अभिभावकहरूले भ्रष्टाचारको आरोपमा शिक्षकहरूलाई विद्यालयको कार्यालयमै थुनिदिएका छन् ।
गोडैतामा बुधबार बिहान विद्यालय पुगेका सबै शिक्षकलाई कार्यालयमा थुनेर ढोकामा ताल्चा लगाएको छ । विद्यालयका प्रधानाध्यापक गर्भु महतोमाथि विद्यालय व्यवस्थापन समिति गठन नगरी एकलौटी निर्णय गर्दै आएको, विद्यार्थीका लागि प्राप्त सुविधा लक्षित समूहसम्म नपु¥याएको र नियमित विद्यालय नआएको आरोप छ । यही कारण आक्रोशित अभिभावकहरूले कार्यालयमै ताल्चा लगाई विरोध जनाएका हुन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि प्राप्त सामग्रीहरू शिक्षकहरूले आफैंले राख्ने, छात्रवृत्ति तथा दिवा खाजा योजनामा भ्रष्टाचार गर्ने, र माटो परीक्षण तथा निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै अभिभावकहरूले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानाध्यापक महतोमाथि विद्यालय व्यवस्थापन समितिका पुराना सदस्यहरूसँग मिलेर निर्णय लिने, विद्यालयको हिसाबकिताब देखाउन आनाकानी गर्ने र केही अभिभावकलाई उचालेर अन्यलाई दबाब दिने जस्ता आरोप पनि लगाइएको छ ।
प्रधानाध्यापक महतो विद्यालयमा नभएका बेला अभिभावकहरूले कार्यालयमा रहेका शिक्षकहरूलाई थुनेका थिए। बारम्बार फोन गर्दा पनि महतोले फोन नउठाएपछि उनीहरू थप आक्रोशित बने। यस क्रममा विद्यालयमा रहेका सबै शिक्षकलाई थुनेर विरोध जनाइएको छ ।
विद्यालयमा समस्या चर्किएपछि वडाध्यक्ष अजय साहको पहलमा शिक्षकहरूलाई केही घन्टापछि मुक्त गरिएको थियो। वडाध्यक्ष साहले विद्यालयमा देखिएको समस्याको समाधान गर्न अभिभावक र वडा कार्यालयले मिलेर पहल गर्ने आश्वासन दिएका छन् । अभिभावकहरूले प्रधानाध्यापक महतोविरुद्ध कडा कारबाहीको माग गरेका छन्। उनीहरूले विद्यालयमा भ्रष्टाचार रोक्न तत्काल कदम चाल्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।