अपडेट 
२०८१ पुष १०, बुधबार ०८:००

पर्साको चारवटा स्थानीय तहको कार्यालय अहिलेसम्म भाडामै प्रशासनिक कार्यालय सञ्चालन गरिरहेको छ । स्थानीय तह गठन भएको सात वर्षभन्दा बढी समय विते पनि चारवटा पालिकाले अझैसम्म भाडाकै घरमा कार्यालय सञ्चालनमा गर्दै आएका छन् ।

जिल्लामा रहेको १४ पालिकामध्ये एक नगरपालिका र तीन गाउँपालिका कार्यालय अहिलेसम्म भाडाकै घरमा सञ्चालन हुँदै आएको अवस्था छ । चार पालिका रहेको पर्सामा बहुदरमाई नगरपालिका बाहेक सबै नगरपालिकाले आफ्नो भवनमा पालिका कार्यालय सञ्चालन गर्दै आएका छन् । त्यस्तै, विन्धवासिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका र जिराभवानी गाउँपालिका कार्यालय अहिलेसम्म भाडाको घरमा सञ्चालमा भइहेको स्थानीयहरूले बताएका छन् ।

जिराभवानी गाउँपालिकाका मेघराज रायले बताए अनुसार सुरुको समयदेखि अहिलेसम्म जिराभवानी गाउँपालिका कार्यालय भाडाको घरमा सञ्चालनमा गर्दै आएको बताए । उनका अनुसार यो गाउँपालिका कार्यालय तीवटा घर भाडामा लिएर पालिका भवन सञ्चालन गरिरहेको अवस्था छ ।

जिराभवानी गाउँपालिकाका एकजना कार्यपालिका सदस्यका अनुसार भाडाको घरमा कार्यालय सञ्चालन हुँदा मासिक ७० हजारभन्दा बढी भाडा पालिका कार्यालयले तिर्दै आएको छ । उनका अनुसार पालिका भवन निर्माणका लागि पटक–पटक आवाज उठे पनि गाउँपालिका अध्यक्षसहितका केही जनप्रतिनिधिले चासो नै नलिएको अवस्था रहेको छ । त्यस्तै कालिकामाई गाउँपालिका कार्यालयले पालिका भवन निर्माण गर्न जग्गा खरिद गरेको भए पनि कार्यालय भवन बनाउन नसकेको स्थानीय दिनेश चौरसियाले बताए । एनले ०७४ सालको स्थानीय निर्वाचनमा जितेका जनप्रतिनिधिहरूले पालिका भवन निर्माण गर्न जग्गा खरिद गरेको बताए ।

पर्साका केही स्थानीय तहहरूले कार्यालय भवन निर्माण गर्न जग्गा पनि खरिद गरेको भए पनि सो जग्गामा अहिलेसम्म भवन निर्माण गर्न नसक्दा भाडाको घरमा कार्यालय सञ्चालन गरिरहेका छन् । पालिका भवन नहुँदा केही पालिका वडामा रहेको सामुदायिक भवन, विद्यालयको छात्रावासदेखि वडा कार्यालयको भवनमा पालिका कार्यालय सञ्चालन गरिरहेको स्थानीयहरू बताउँछन् ।

पकाहा मैनपुर गाउँपालिका कार्यालय जिल्लाकै सामाजिक संस्था दिव्या युवा क्लबले बनाएको सामुदायिक भवनमा सञ्चालित रहेको छ । सानो भवन रहेको भवनमा केही नयाँ संरचना निर्माण गरेर पालिका भवन सञ्चालनमा ल्याएको स्थानीय राकेश यादवले बताए । त्यस्तै पटेर्वा सुगौली गाउँपालिका कार्यालय मन्दिरको नाममा रहेको भवनमा सञ्चालन हुँदै आएको स्थानीय प्रमोद यादवले बताए ।

पटेर्वा सुगौली गाउँपालिका कार्यालय भवन निर्माणको कार्य अन्तिम चरणमा रहेको यादवले बताए । यस्तै कालिकामाई गाउँपालिका र धोबिनी गाउँपालिकाले वडा कार्यालयको भवनमा सञ्चालनमा रहेको स्थानीयहरूले बताएका छन् । स्थानीय सन्तोष पटेलका अनुसार धोबिनी गाउँपालिका कार्यालय वडा कार्यालयकै भवनमा सञ्चालनमा रहेको अवस्था रहेको छ ।

केही वर्ष पहिले पशु स्वास्थ्य केन्द्रको भवनमा सञ्चालन हुँदै आएको पालिका कार्यालय अहिले वडा नम्बर ४ लंगडीको भवनमा सञ्चालन हुन थालेको पटेलले बताए ।

संखुवा प्रसौनी गाउँपालिका कार्यालयले विद्यार्थीका लागि बनाएको छात्रावासको भवनमा आफ्नो कार्यालय सञ्चालन गरिरहेको जनप्रतिनिधिहरू जनाएका छन् । स्थानीय तह गठन हुनुभन्दा अगाडिदेखि पर्साका केही पालिका कार्यालय आफ्नै भवनमा सञ्चालित रहेका छन् । पर्साको एक मात्र वीरगन्ज महानगरपालिका र पोखरीया नगरपालिका सुरुको समयदेखि आफ्नो भवनमा कार्यालय सञ्चालन गरिरहेको अवस्था छ ।

यस्तै, गत वर्ष पर्सागढी नगरपालिकाले आफ्नो कार्यालय भवन निर्माण गरेपछि पालिका कार्यालय आफ्नै भवन सारेको छ । त्यस्तै जिल्लाको ठोरी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाले पनि आफ्नो भवन निर्माण गरेर पालिका कार्यालय सञ्चालन गर्दै आएको अवस्था छ । ठोरी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाका तत्कालीन पालिका अध्यक्षहरूले नै आफ्नो कार्यकालमा पालिका भवन निर्माण गरेर पालिका भवन सञ्चालन गरेका थिए । यी पालिका कार्यालयहरूले आफ्नो भवनमा कार्यालय सञ्चालनमा ल्याएपछि लाखौँ रुपैयाँको आर्थिक भार घट्दै गएको ठोरी गाउँपालिकाका सन्दीप बस्नेतले बताए । पालिकालाई नमुना बनाउन योजना लिएर आएका जनप्रतिनिधिहरू कार्यालय भवन पनि पहिलो कार्यकालमा बनाएको थियो ।

Comment


Related News

Latest News

Trending News