अपडेट 
२०८१ पुष २६, शुक्रबार ०८:२३

मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि रकमको व्यवस्था प्रदेश सरकारले नै व्यहोर्ने बताएका छन् ।

जनकपुरधाममा बिहीबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले छात्रवृत्ति वितरण पारदर्शी हुने बताए । नयाँ विद्यार्थीहरूका लागि शुरु गरिएको अभिमुखीकरण कार्यक्रममा उनले मधेश बाहिरका विश्विद्यालयहरूलाई छात्रवृत्तिवापत युनिभर्सिटी ग्रान्ट कमिशन (यूजीसी) ले अनुदान दिने गरेको भए पनि मधेश प्रदेशमा सो सुविधा नदिइएको प्रति गुनासो गरे ।

सो प्रतिष्ठानले एमबीबीएसमा भर्ना भएका ५० जनामध्ये छात्रवृत्ति पाउने ३८ जनाको सम्पूर्ण छात्रवृत्ति रकम मधेश सरकारले व्यहोर्ने मुख्यमन्त्री सिंहले बताए । उनले प्रतिष्ठानमा देशका विभिन्न ठाउँबाट अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत गर्दै अध्ययन पछि उनीहरू स्वास्थ्य सेवामा प्रतिवद्ध भएर लाग्ने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यमन्त्री शत्रुधनप्रसाद सिंहले स्वस्थ मधेश प्रदेश निर्माण गर्ने लक्ष्यका साथ प्रदेश सरकार अहोरात्र खटिरहेको बताए । अस्थिर सरकारका कारण अपेक्षाकृत काम गर्न नसकेको पनि उनले स्वीकार गरे । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मंगल रावलले प्रतिष्ठानले एमबीबीएस अध्ययन अध्यापन शुरु गरेकोमा खुशी व्यक्त गर्दै यसले मधेशको स्वास्थ्य क्षेत्रको विकासमा मद्दत पुग्ने बताए । उनले मधेश र कर्णाली दुवै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पछाडि परेको र पारिएको भन्दै यी दुई प्रदेशलाई अगाडि बढाउन सकिए मात्र वास्तवमा नेपालको विकास भएको मान्न सकिने बताए ।

त्यस्तै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. विनोदकुमार यादवले स्थापनादेखि हालसम्मका उपलब्धिहरूको विषयमा बताए । उनले प्रतिष्ठानले गरेको उपलब्धिमा मधेश सरकारको विशेष सहयोग रहेको भन्दै यसखाले सहयोग निरन्तर रहिरहने बताए ।

सो कार्यक्रममा प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुनप्रसाद सिंहले प्रवीणता प्रमाण तहबाट छोटो अवधिमा नै स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन गर्न प्रतिष्ठान समक्ष हुनु मधेशकै लागि ठूलो उपलब्धि भएको बताए ।

प्रतिष्ठानले बिहीबारबाट शुरु गरेको सात दिने अभिमुखीकरणका क्रममा पहिलो वर्षमा अध्ययनका लागि भर्ना भएका छात्रछात्रालाई मेडिकल शिक्षाका लागि नैतिक मूल्य र मान्यता, मापदण्ड, स्वास्थ्यकर्मीले पालना गर्नुपर्ने आचारसंहिताबारे ज्ञान दिइने छ ।

सो अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूलाई गाउँघरका स्वास्थ्य संस्थादेखि ठूला अस्पतालहरूको पनि भ्रमण गराउने उद्देश्य लिइएको छ । यस कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारी, जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डललगायतकाहरुले नयाँ विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।

Comment


Related News

Latest News

Trending News