औषधि व्यवस्था विभागले प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागले औषधिपूरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना जारी गर्दै विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएकाले यस्ता औषधि बिक्री वितरण अविलम्ब रोक्न आग्रह गरेको हो ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागको स्वीकृतिविना आयात भएका यस प्रकारका औषधिको सुरक्षा, गुणस्तरीयता र मूल्य सार्थकता यकिन नहुने हुँदा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम भएको बताए ।
विभागमा दर्ता भएका औषधिसँगको सक्रिय तत्त्व र ‘ब्रान्ड’सँग दुरुस्त मिल्दोजुल्दो हुने र देखिने गरी न्युट्रास्युटिकल्स तथा सौन्दर्य प्रशोधनका नाममा विभागमा दर्ता नै नगरी आयात गरी औषधि पसलमार्फत उपलब्ध गराउँदा डाक्टर तथा स्वास्थ्यकर्मी र बिरामीमा भ्रम सृजना भएको विभागले जनाएको छ ।