जाडो मौसमको ‘मिनपचास’ चलिरहेको बेला बिहीबार पश्चिमको पर्यटकीय नगर पोखरामा गजबको गर्मी थियो । उत्साही युवाहरु नराबाजी गर्दै थिए– ‘रवि लामिछाने जिन्दावाद । सम्मानित अदालतमाथिको विश्वास अझ दरिलो भयो ।’ ८४ दिनदेखि प्रहरी हिरासतमा रहेका पार्टी सभापति लामिछाने ६५ लाख धरौटी बुझाएर छुटेपछि, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरुमा देखिएको यस उत्साहलाई अस्वाभाविक भन्न सकिदैन । तर पर्यटकीय नगरी पोखरा, उत्साहमा फनफनी उर्फी रहेको बेला धार्मिक नगरी जनकपुरधामका युवाहरु भने गम्भीर विमर्शमा थिए ।
काठमाण्डुदेखि कञ्चनपुर कैलालीसम्मका मधेशवादी दलका नेताहरु आ–आफ्ना दलको भविष्यप्रति चिन्तित थिए । चिन्ताको कारण थियो– निर्वाचन आयोगको थ्रेस होल्ड सम्बन्धी कानुन परिमार्जन सम्बन्धी प्रस्ताव । एउटै उद्देश्य, एउटै भोट बैंक, एक जस्तै समस्या र एउटै सांस्कृतिक पहिचान भएका नेताहरुले व्यक्तिगत स्वार्थका लागि संचालन गरेका फरक फरक राजनीतिक दलरुपि पसलहरुका खुद्रा बिक्रेताहरुको यो चिन्ता स्वाभाविक पनि हो ।
कारण अचेल निर्वाचन आयोगले परिमार्जन गर्न प्रस्ताव गरेको थ्रेस होल्ड सम्बन्धी प्रस्ताव कानुनको स्वरुप ग्रहण गर्यो भने मधेशमा खुलेका अधिकांश खुद्रा पसल (राजनीतिक दल) हरुमा ताल्चा लाग्छ । हाल प्रचलनमा रहेको थ्रेस होल्ड सम्बन्धी कानुन अनुसार, प्रतिनिधि सभाका लागि ३ प्रतिशत र प्रदेश सभाका लागि १ दशमलव ५ प्रतिशत थ्रेस होल्ड कायम गरेको छ ।
थ्रेस होल्ड भनेको समानुपातिक तर्फ (दल विशेषलाई) मतदाताहरुले मतदान गरेका कुल सदर मतको सम्बन्धित दल विशेषले प्रतिनिधिसभाको हकमा ३ प्रतिशत र प्रदेश सभामा १ दशमलव ५ प्रतिशत मत ल्याए मात्र समानुपातिक सांसद हुन पाउने प्रावधान छ । तर प्रतिनिधिसभामा ३ प्रतिशत थ्रेस होल्ड हुँदा पनि प्रत्यक्षतर्फ १० सिट जितेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, ४ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी संघीय संसदमा एउटा पनि समानुपातिक सिट पाउन सकेन ।
अर्कोतर्फ थ्रेस होल्ड कटाउन सकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ पनि ७ सिट जित्न सफल भयो । प्रत्यक्षतर्फ एकमात्र सिट जितेको जनमत पार्टी समानुपातिक तर्फ ५ सिट जित्न सफल भयो । थे्रस होल्ड कटाएकै कारण प्रत्यक्षमा १८ मात्र सिट जितेको नेकपा माओवादी केन्द्र समानुपातिकमा १४ सिट जितेर प्रतिनिधिसभाको तेश्रो ठुलो दल बन्न भ्यायो । फेरि हामीले के पनि बुझ्नु पर्दछ भने थ्रेस होल्ड कटाउन नसक्ने दलहरुले पाएको समानुपातिक मतभार बमोजिमको सिट थ्रेस होल्ड कटाउने ठुला दलहरुको खातामा जान्छ ।
यस प्रकार ३ प्रतिशत थ्रेस होल्डको कारणले १० सिट जितेको सातौँ सबभन्दा ठुलो दल एकीकृत समाजवादी पार्टीले संघीय संसदमा एउटै समानुपातिक सिट प्राप्त गर्न सकेन भने थ्रेस होल्ड ५ प्रतिशत बनाउँदा टुक्राटुक्रामा विभाजित मधेशसवादी दलहरुको हविगत २०८४ को निर्वाचनमा के होला ? निर्वाचन आयोगको यस प्रस्तावले मधेशवादी दलहरुको चिन्ता बढाउनु स्वाभाविक हो ।
गीतामा भनिएको जे हुन्छ, राम्रैको लागि हुन्छ । हो, थ्रेस होल्डको डरले मधेश र मधेशवादीदलहरु एक थलोका बस्न लागेका छन् । एकीकरणदेखि कार्यगत एकताको प्रस्तावमा छलफल गर्न थालेका छन् । संयुक्त आन्दोलनको झ्याली पनि पिट्न थालेका छन् । हेरौ, थ्रेस होल्ड सम्बन्धी प्रस्तावबारे के भन्छन् मधेशवादी दलका नेताहरु–
– चोरबाटोबाट ठूला पार्टीमा मत जोड्ने थ्रेसहोल्डको प्रावधान आमजनतालाई स्वीकार्य हुन सक्दैन, दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन । : सीके राउत, अध्यक्ष, जनमत पार्टी
– बहुदलीय शासन व्यवस्था विपरीत दुई दलीय व्यवस्था लाद्ने प्रयास गर्न खोजिएको छ । यो स्वीकार्य हुन सक्दैन । : मनिष सुमन, प्रवक्ता, जसपा नेपाल
– थ्रेसहोल्ड बढाउने कुरा संघीयताको मर्म र भावना विपरीत छ । क्षेत्रीय समस्यामुखरित पार्न सदनमा विभिन्न पार्टीको उपस्थिति चाहिन्छ । : जितेन्द्र सोनल, वरिष्ठ उपाध्यक्ष, लोसपा
(स्रोतः कान्तिपुर, पुस २६,२०८१)
दुनियाको इतिहासमा दुर्लभ देखिने दृश्यगत असारमा नेपालको संसदमा देखिएको थियो । जब सदनको सबभन्दा ठुलो दल नेपाली कांग्रेस र दोश्रो ठुलो दल नेकपा एमाले सात बुँदे सम्झौताको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाएको थियो । झण्डै दुई तिहाई बहुमतको सरकारको प्रमुख कार्यभार थियो– ‘स्थिर सरकार र संविधान संशोधन ।’ तर राजनीतिक विश्लेषक तथा मधेशवादी दलका नेताहरुले त्यतिबेलै चिन्ता जनाएका थिए– ‘दुई ठुला दल मुलुकमा दुई दलीय व्यवस्था लाद्न खोज्दैछ ।’ नभन्दै थ्रेस होल्ड सम्बन्धी प्रस्तावले राजनीतिक विश्लेषक तथा मधेशवादी दलका नेताहरुको त्यतिबेलाको आशंका छताछुल्ल भएको छ ।
संघीय संसदमा ५ र प्रदेश संसदमा ३ प्रतिशतको थ्रेस होल्ड कायम गरियो भने मधेशवादी दलहरु झन् कमजोर हुने पक्का हो । यसबाट जोगिने एउटै उपाय हो– सम्पूर्ण मधेशवादी दलका नेताहरु व्यक्तिगत स्वार्थ, महत्वकांक्षा र दुश्मनीलाई थाति राखि एक ढिक्का हुनु पर्दछ । आगे,मसिहाहरुको मर्जि ।।