अपडेट 
२०८१ पुष २९, सोमबार ०७:३४

सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने तयारी थालेको छ । महाधिवेशनको तयारीमा रहेको लोसपा नेपालले महाधिवेशनका लागि निर्देशिका पनि तयार गरेको छ ।

सो निर्देशिकाअनुसार महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने उल्लेख अनुसार गरिएको छ ।निर्देशिकामा प्रदेश अधिवेशनका लागि केन्द्रीय समितिले पाँच सदस्यीय, जिल्ला अधिवेशनका लागि प्रदेश समितिले तीन सदस्यीय निर्वाचन समिति गठन गरिने भएको छ ।

प्रदेश समिति नरहेको ठाउँमा केन्द्रीय समितिले सो समिति गठन गर्ने भनिएको छ । निर्वाचन क्षेत्रीय अधिवेशन तथा पालिका अधिवेशनका लागि तीन– तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने भनिएको छ । लोसपा नेपालको निर्देशिका अनुसार पालिका, क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका प्रतिनिधिहरूको नामावली सम्बन्धित निर्वाचन समितिमा कम्तीमा २४ घण्टा पहिले दिनुपर्ने हुन्छ ।

निर्वाचन क्षेत्रमा सक्रिय रहेको भातृ संगठनले अधिवेशनका लागि ५ जना, जिल्लामा रहेको भातृ संगठनले पनि ५ जना प्रतिनिधि चयन गर्ने प्रावधान निर्देशिकामा राखेको छ । त्यस्तै प्रदेश अधिवेशनका लागि प्रदेशमा सक्रिय रहेका भातृ संगठनले सात जना प्रतिनिधि चयन गर्नुपर्नेछ । त्यस्तै केन्द्रमा सक्रिय रहेको भातृ संगठनले केन्द्रीय महाधिवेशनका लागि सात जना प्रतिनिधि चयन गर्ने प्रावधान रहेको छ ।

लोसपा नेपाल निकट लोकतान्त्रिक शिक्षक संघ, लोकतान्त्रिक प्राध्यापक संघ, लोकतान्त्रिक बुद्धिजीवी संघ, लोकतान्त्रिक कानुन व्यवसायी संघ, सेवा निवृत्त शिक्षक तथा कर्मचारीहरूमध्ये निर्वाचन समिति गठन गर्ने निर्देशिकामा उल्लेख गरिएको छ । अधिवेशन गराउने क्रममा कुनै वैधानिक जटिलता उत्पन्न भएमा केन्द्रीय निर्वाचन समितिको निर्णय अन्तिम हुने निर्देशिकामा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News