अपडेट 
२०८१ माघ १, मंगलवार ०७:५६

नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेसंगै सेवाग्राहीले फेरि पनि सास्ती खेप्नु पर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थामा खाता खोल्नका लागि पनि राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेपछि सवोच्च अदालतमा विचाराधीन रहेको अवस्था बैंकले चालेको कदमले सेवाग्राहीहरु मर्कामा परेको एक स्थानीय सेवाग्राहीको गुनासो छ ।

राष्ट्रिय परिचय पत्र लिनका लागि भने मोवाइल नम्बर पनि अनिवार्य गरिएको छ । जुन मोवाइल नम्बर आफ्नो नाममा हुनुपर्ने प्रावधान गरिएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० का सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी व्यवस्थामा संशोधन गर्दै वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र पूर्वाधार विकास बैंकलाई निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणका पहुँचका आधारमा ग्राहकको पहिचान तथा सम्पुटि गर्न सक्ने भएको जनाएको छ । बैंक तथा वित्तीय संस्थाले मंगलबारदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाएको छ ।

सरकारले सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्ने हुन्छ । सो खाताबाट रकम झिक्नु अघि यस निर्देशन बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने हुन्छ ।

बैंक तथा वित्तीय संस्थाले गृह मन्त्रालयले विभिन्न माध्यमबाट उपलब्ध गराएको व्यक्ति, समूह वा संगठनको सूची वा व्यक्तिको सम्बद्धता, समूह वा संगठनसँग आफ्नो कारोबार भए नभएको नियमित रुपमा यकीन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्ने व्यवस्था गरेको छ । सूचिकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध व्यक्तिको खाता, लकर वा अन्य कुनै रकम संस्थासँग रहेको भएमा तत्काल रोक्का राखी केन्द्रीय बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखालाई ३ दिनभित्र जानकारी गराउनुपर्नेछ ।

Comment


Related News

Latest News

Trending News