अपडेट 
२०७६ चैत्र २९, शनिबार १८:५४

काठमाडाैं । मुलुकका ७७ वटै जिल्लामा आरडिटी (र्‍यापिड डायगोनिष्ट टेष्ट) मार्फत् कोरोना भाइरसको परीक्षण सुरु हुने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार नियमित पत्रकार सम्मेलनमा देशका सबै जिल्लामा आरडिटी प्रविधिमार्फत कोभिड-१९ को परीक्षण सुरु हुन गइरहेको जानकारी दिएका हुन्।

उनले भने, ‘सबै प्रदेशमा परीक्षण किट उपलब्ध भइसकेको छ। कतिपय जिल्लामा आजैबाट सुरु भएको छ भने कतिपयमा भोलिबाट सुरु सुरु हुँदैछ। यसरी हामीले देशैभर परीक्षण सुरु गरेका छौं।’ तीन दिन अगाडिबाट कैलाली, कञ्चनपुर र बागलुङ जिल्लाबाट सरकारले आरडिटी परीक्षण सुरु गरेको थियो।

पिसिआर प्रविधिबाट पनि देशभरका विभिन्न ११ स्थानबाट परीक्षण भइरहेका छन् भने अन्य दुई स्थानबाट पनि परीक्षण हुँदैछ। काठमाडौंस्थित वीर अस्पतालमा शनिबारबाट परीक्षण सुरु भएको छ भने टेकु अस्पतालमा पनि आइतबारबाट परीक्षण सुरु हुने तयारी रहेको डा. देवकोटाले बताए।

हालसम्म नेपालभर विभिन्न ठाउँमा गरी ४ हजार ४ सय २६ जनाको परीक्षण भएको छ। जसमध्ये पछिल्लो २४ घण्टामा ८ सय ९७ जनाको परीक्षण भएको छ। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ३ हजार ३ सय ९२ जनाको कोभिड-१९ परीक्षण भएको छ, जसमा पछिल्लो २४ घण्टामा ६ सय ९ जनाको परीक्षण भएको छ । त्यस्तै, उपत्यका बाहिरका विभिन्न ठाउँमा गरी हालसम्म ७ सय ४३ जनाको परीक्षण भएको छ, जसमा पछिल्लो २४ घण्टामा नै २ सय ८८ जनाको परीक्षण भएको छ ।

नेपालभरका विभिन्न ठाउँमा गरी अहिले ८ हजार ८२ जना क्वारेन्टाइनमा छन्। त्यस्तै ,आइसोलसनमा रहेका ८२ जनामध्ये १५ जना काठमाडौंभित्र र ६७ जना काठमाडौंबाहिर रहेका छन्। क्‍वारेन्टाइनमा रहनेहरुको पनि परीक्षणको काम सुरु भइसकेको प्रवक्ता डा. देवकोटाले बताए। उनले भने, ‘सुदूरपश्चिमका सबै जिल्लामा आरडिटीबाट परीक्षण सुरु भएको छ। अन्य सबै जिल्लामा पनि परीक्षण सुरु हुने तयारीमा छ। हामीले १४ दिनको अवधि काटिसकेका छौं। अब क्‍वारेन्टाइनमा रहेर आफूभित्र यो भाइरससँग लड्ने रोगप्रतिरोधात्मक क्षमताको वृद्धि भए नभएको थाहा पाउन पनि परीक्षण भइरहेको छ।’

स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको वेबसाइट, कल सेन्टर र मोबाइल एपमार्फत स्वमूल्यांकन गर्नेमध्येमा हालसम्म १ सय ९९ जना रेड जोनमा रहेका छन्। यीमध्ये पछिल्लो २४ घण्टामा ५ जना रेड जोनमा परेको डा. देवकोटाले बताए। उनले भने, ‘हामीले रेड जोनमा पर्नेहरुको ट्रेसिङ गरिरहेका छौं।’

हालसम्म नेपालभर कोरोना संक्रमित ९ जना रहेका छन, जसमध्ये एक जना निको भइसकेका छन् भने अन्य आठ जना विभिन्न स्थानमा उपचाररत् छन्। प्रवक्ता डा. देवकोटाले भने, ‘अहिले सबै जनाको स्वास्थ्यको अवस्था सामान्य छ।’ 

Comment


Related News

Latest News

Trending News