श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वर्तमान सरकारको विकल्पको कल्पना पनि गर्न नसकिने बताएका छन् ।
महोत्तरीको जलेश्वरमा प्रादेशिक अस्पताल जलेश्वरले आयोजना गरेको एक कार्यक्रममा मन्तव्य राख्दै मन्त्री भण्डारीले भने, ‘‘यो सरकार स्थिर मात्रै होइन, यो सरकार यति बलियो छ, यसको विकल्पको कल्पना पनि गर्न सकिन्न ।’’ िन िश् च त जिम्मेवारी लिएर अगाडि बढेको यो सरकारलाई अन्यथा गर्ने वा फेल हुने छुट नभएको बताउँदै मन्त्री भण्डारीले केन्द्रीय सरकार फेल भयो भने त्यसबाट निमित्ने समस्या अकल्पनीय हुने भएकाले यो सरकार फेल नहुने बताए । यो सरकार फेल नहुने गरी काम गर्ने प्रतिबद्धता जनाउँदै उनले सरकारले आमजनतालाई परिवर्तनलाई आत्मसाथ गरी महसुस गराउने काम गर्ने दावी गरे ।
देशमा अहिले सरकारलाई बदनाम गराउन विभिन्न भाष्य स्थापना भइरहेको बताउँदै देशमा प्राप्त उपलब्धिलाई उल्टयाउने काम भइरहेकोमा उनले आक्रोश पोखे । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै, संविधानमा आवश्यक परिमार्जन गर्दै, संविधानलाई सर्वस्वीकार्य बनाउन यो सरकार दत्तचीत्त भएर लागिरहेको बताउँदै मन्त्री भण्डारीले भने, ‘‘नेपाली जनताले हासिल गरेको उपलब्धिभन्दा एक इन्च पछाडि हट्दैनौँ । अगाडी बढने हो, अग्रगामी हुने हो ।’’
सो कार्यक्रममा प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा.विकास कुमार साहले अस्पतालबारे मन्त्री भण्डारीलाई जानकारी गराएका थिए । सो कार्यक्रममा सभासद जयनुल राईन, जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलगायतकाहरुले बोलेका थिए ।