![](https://ejanakpurtoday.com/wp-content/uploads/2024/09/health_ministry_wAmy5mDNEu.jpg)
अबदेखि एउटा स्वास्थ्य संस्थामा गरेको गरिएको स्वास्थ्य परीक्षण सोही समयमा अर्को ठाउँमा गएर दोहोर्याएर गर्नु नपर्ने भएको छ।
हालै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको स्वास्थ्य परीक्षणसम्बन्धी सबै जानकारी जुनसुकै अस्पतालबाट पनि कम्प्युटर प्रणालीमा हेर्न मिल्ने एकीकृत प्रणाली लागू गर्ने गरी एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ जारी गरेर काम अघि बढाएको हो।
यो कार्यान्वयनमा आए पछि अब बिरामीले अस्पताल जाँदा आफ्नो स्वास्थ्य रिपोर्टसहितका कागजपत्र बोक्नु पर्दैन, एउटा पहिचान नम्बर (कोड नम्बर) लिएर एक स्वास्थ्य संस्थामा बाट अर्को स्वास्थ्य संस्थामा ‘रिफर’ भएर वा अन्य कारणले परिक्षण गर्नु परेका दोहोर्याएर ल्याब परिक्षण गर्नु पर्दैन।
जसको लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीयरूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेर यसको निर्देशिका समेत बनाएका हुन्।
हाल हरेक स्वास्थ्य संस्था नै पिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियन्त्रणमा रहने गरी एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाका अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउने निर्णय मन्त्री पौडेलले गरेका हुन्।
सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाले अब विद्युतीय चिकित्सा अभिलेख प्रणाली २०८१ अन्तर्गत एक अर्कासँग बिरामीका तथ्यांक तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्नेछ।
त्यसो भएमा बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनको अन्त्य हुनुका साथै स्वास्थ्यसम्बन्धी नीति निर्माणमा एकीकृत तथ्यांक प्राप्त हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
‘रोगको निदान तथा उपचार पद्धतिमा बिरामीलाई कम भार परोस् भन्ने हाम्रो चाहना हो, ‘बिरामीको खर्च र परीक्षणको दोहोरोपना रोक्न र प्रभावकारी सेवा दिन नयाँ व्यवस्थाले सघाउ पुर्याउने अपेक्षा गरेका छौँ’, मन्त्री पौडेलले भने।
निर्देशिका अनुसार एकीकृत अभिलेखन गर्दा सेवाप्रदायक तथा सेवाग्राही दुवै कागजी झण्डझटबाट जोगिनुका साथै अर्को पटक पुनः सेवा लिन आउँदा पहिलेकै रेकर्डका आधारमा उपचार हुने भएकाले सेवाग्राही र प्रदायक दुवैलाई सहजता हुन गई सेवा प्रवाह छिटो र सजिलो हुने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी बताउँछन्।
हाल विद्युतीय प्रणाली अस्पतालहरूमा लागू भए पनि एक अर्काबीच तथ्यांक आदानप्रदान गर्ने खालका छैनन्। यसले गर्दा बिरामीले पटक-पटक एकै खालका जानकारी हरेक ठाउँमा बुझाउनुपर्ने बाध्यता छ । नयाँ व्यवस्थापछि यो समस्या हट्ने समेत बुढाथोकीले बताए।
‘अब स्वास्थ्य संस्थाहरुले प्रणालीको स्थापना गरी एक अर्कालाई कार्यक्षेत्र र कार्य विवरणका आधारमा बिरामीका विवरणमा पहुँच दिनुपर्नेछ’, उनले भने, ‘प्रणालीमा बिरामीको पहिचान नम्बरका आधारमा स्वस्थ्य समस्या निदान, चिकित्सकीय सुझाव, प्रयोगशाला तथा रेडियोलोजी जानकारी अनिवार्य प्रविष्ट हुनुपर्ने गरी निर्देशिका बनाइएको छ।’
सेवाग्राहीको नाम दर्तादेखि चिकित्सकीय सुझाव, प्रयोगशाला तथा रेडियोलोजी जानकारी अनिवार्य हुनु पर्ने
उक्त निर्देशिका अनुसार अब स्वास्थ्य संस्थाले प्रणालीको स्थापना गरी एक अर्कालाई कार्यक्षेत्र र कार्य विवरणका आधारमा बिरामीका विवरणमा एक स्वास्थ्य संस्था देखी अर्को स्वास्थ्य संस्थालाई पहुँच दिनु पर्ने हुन्छ ।
हाल विद्युतीय प्रणाली अस्पतालहरूमा लागू भए पनि एक अर्काबीच तथ्यांक आदानप्रदान गर्ने व्यवस्था छैन जसले गर्दा एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा रिफरल वा अन्य कारणले जाँदा बिरामीलाई दोहोर्याएर परीक्षण गर्न लगाइने गरिएको छ। तर कतिपय चिकित्सकले आफ्नो स्वविवेकले यस अघि गरिएको परीक्षणको रिपोर्टको समय हेरेर परिक्षण नदोर्याउने पनि गर्दै आएका छन्।
यसका कारण बिरामीले पटक-पटक एकै खालका जानकारी हरेक ठाउँमा बुझाउनुपर्ने बाध्यता छ। नयाँ व्यवस्थापछि यो समस्या हट्ने अपेक्षा गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
प्रणालीमा बिरामीको कोड नम्बरका आधारमा स्वास्थ्य समस्या निदान, चिकित्सकीय सुझाव, प्रयोगशाला तथा रेडियोलोजी जानकारी अनिवार्य उल्लेख हुनुपर्ने निर्देशिकामा छ।
बिरामीको चिकित्ससकीय सेवाबापतको भुक्तानी समेत अनलाइन हुने व्यवस्था गरिएको छ। प्रणालीमा बिरामीको नाम दर्तादेखि आकस्मिक सेवा, फार्मेसी, प्रतिवेदन, ब्लक बैंक, बेड मोड्युल हुनुपर्ने निर्देशिकामा छ।
मन्त्रालयले सेवाग्राही पोर्टल विकास गरेर उपचारमा सहभागी स्वस्थ्यकर्मीबाहेकलाई सूचनामा पहुँच नहुने तथा सरकारले कानूनबमोजिम माग गरेमा सूचना उपलब्ध गराउन सक्ने गरी प्रणाली सञ्चालन गर्नेछ।
मन्त्रालयले यो प्रणाली तीनै तहमा र हरेक स्वास्थ्य संस्थामा विद्युतीय अभिलेखका लागि एउटा एकाइ बेग्लै एकाइ परिकल्पना गरेको छ।
साथै निर्देशिकाले संघीय तहका स्वास्थ्य संस्थामा मन्त्रालयले अतिरिक्त सचिवको नेतृत्वमा निर्देशन समिति गठन गरेर प्रणालीको अनुगमन तथा समस्या समाधानमा भूमिका खेल्ने परिकल्पना निर्देशिकाले गरेको छ।
नागरिकका स्वास्थ्य समस्याका जानकारीका आधारमा राज्यले लिने नीति र कार्यक्रममा समेत एकीकृत प्रणालीले मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी एकीकृत विद्युतीय प्रणाली लागू गर्ने निर्णय राम्रो भए पनि कार्यान्वयनमा भने चुनौती हुन सक्ने यही निर्देशिका निर्माणमा सहभागी मन्त्रालयका एक अधिकारी बताउँछन्।
‘एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका पनि बनाइएको छ तर यसको कार्यान्वयन राम्रोसँग हुने भने चुनौती देखिन्छ’, ती अधिकारी भन्छन्, ‘संघीय अस्पतालमा सहजसँग कार्यान्वयन होला। प्रदेश जिल्ला र स्थानीय तहका स्वास्थ्य संस्थामा यसको लागि स्रोत साधन पुरा नहुन पनि सक्छ।’ सबै स्वास्थ्य संस्थामा एकै खालका स्रोतसाधन नरहेकाले समस्या हुनसक्ने उनको भनाइ छ।