अपडेट 
२०७७ बैशाख १, सोमबार १२:०८

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षकै तलब राहत कोषलाई दिने घोषणा गरेका छन्। सोमबार सामाजिक सञ्‍जालमार्फत उनले एक वर्षकोमध्ये २ महिनाको कोभिड-१९ राहत कोष र बाँकी विपन्‍न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन्। 

राष्ट्रिय सभाका सदस्य उनले यसअघि नै संसद् विकास कोषको कुनै औचित्य नभएको भन्दै त्यसलाई तत्काल खारेज गर्न माग गरेका थिए। उनले संदस विकास कोषमार्फत बाँडिने रकम कोभिड-१९ कोषमा हाल्न सरकारलाई अपिल गरेका थिए। 

उनले कोभिड-१९ बाट उत्पन्‍न संकटको समयमा सबैले एकजुट भएर भूमिका खेल्न पनि अपिल गरेका छन्। ‘हामी अहिले कोभिड-१९ र उत्पन्‍न संकटको सामना गरिरहेका छौं।

यसबेला एकताबध्द भई आ-आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी छ’, उनले भनेका छन्, ‘यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्‍न वर्ग केन्द्रित आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गर्दछु।’ ‘संसद विकास कोष खारेज गरिहालौं, सहमतिको सरकार बेतुकको कुरा’ नेता श्रेष्ठले पदप्रतिष्ठा, सत्ताशक्ति र धनसम्पत्तिको सुख क्षणिक हुने पनि बताएका छन्।

‘पदप्रतिष्ठा, सत्ताशक्ति र धनसम्पतिको क्षणिक सुखलाई सत्य, ठीक र न्यायको पक्षधरताबाट मिल्ने आनन्द भन्दा बढी महत्वको ठान्‍ने भ्रमले लपेटेको छ धेरैलाई’, उनले भनेका छन्, ‘त्यसले ब्यक्ति र समाजलाई हानि पुर्‍याइरहेको छ।

बुझौं,अन्ततः दोश्रोले नै समाज र मानवजातिलाई अगाडी बढाइरहेको छ, प्रगति  र मुक्तिको दिशामा।’ नेता श्रेष्ठले नयाँ वर्षको शुभकामना दिने क्रममा जन्म र मृत्युबीचको बाँच्‍नु मात्रै जीवन नभएको सन्देश दिएका छन्।

‘जन्म र मृत्युबीचको अवधिमा बाँच्‍नु मात्रै जीवन होइन। यद्यपि जीवन जीउनका लागि बाँच्नुपर्दछ’, उनले भनेका छन्, ‘तर बाँच्दैमा मानव भइँदैन।पशु पनि बाँचेकै हुन्छ।मानव जीवन त मुक्ति यात्रा हो। आफ्नो अस्तित्व र सत्यसङ्ग एकाकार हुने क्रममा मात्र ब्यक्ति मुक्तिउन्मुख, सामाजिक मुक्तिमा कर्मनिष्ठ र आनन्दित हुनसक्छ।

‘ उनले नयाँ वर्ष २०७७ का अवसरमा सबै मिलेर कोभिड-१९ माथि विजय प्राप्त गर्न पनि अपिल गरेका छन्। नेकपाका प्रवक्तासमेत रहेका नेता श्रेष्ठले नयाँ वर्षमा राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण एवं सामाजिक न्यायसहितको समृद्धिको लक्ष हाँसिल गर्न पनि अपिल गरेका छन्। 

Comment


Related News

Latest News

Trending News