![](https://ejanakpurtoday.com/wp-content/uploads/2025/02/saroj-kumar-yadav.jpg)
मधेशका पूर्वमुख्यमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले निधि निवास र गढीमाई मेलाका लागि गएको बजेटमा भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
प्रदेशसभा बैठकमै उनले आफ्नै कार्यकालमा बारामा निधि निवास र गढीमाई मेलाका लागि गएको बजेटमा भ्रष्टाचार भएको दाबी गरेका हुन् । बारा उनको गृहजिल्ला पनि हो ।
‘म मुख्यमन्त्री रहेकै बेला निधि निवासका लागि १९ करोड र गढीमाई मेला अगावै सडक निर्माण तथा मर्मतका लागि २१ करोड ४० लाख रुपैयाँ गएको थियो’, उनले भने, ‘यी दुवै योजनामा भ्रष्टाचार भएको भनेर छानबिन गर्न यसअघि पनि माग गरेको थिएँ । आज फेरि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
पूर्वमुख्यमन्त्री यादवले बजेटमा कर्मचारीहरुले भ्रष्टाचार गरेको जिकिर गरे । ‘सरकारले भ्रष्टाचार गरेको भनेको छैन, मैले नै भ्रष्टाचार गरेको छु भने छानबिन गरौं’, उनले भने ।
गढीमाई मेलाका लागि सडक निर्माण तथा मर्मत १०–१० लाख टुक्रे योजना बनाएर खर्च गरेको र त्यसमा भ्रष्टाचार भएको उनको जिकिर छ । मुख्यमन्त्री रहेका बेला आफूले अर्थ मन्त्रालयमा निधि निवासका लागि थप रकम नपठाउन पत्र लेखे पनि थप १० करोड गएको उनले बताए ।
उनले निधि निवासका लागि मात्र ४५० घरको सम्झौता गर्न भनेको, तर पैसा खाएर कर्मचारीले १ हजार ६०० घरको सम्झौता गरेको पनि उनले आरोप लगाए । बाराका भौतिक पूर्वाधार कार्यालयका प्रमुख राजेन्द्र साहले भ्रष्टाचार गरेको भन्दै उनलाई मन्त्रालय तान्न भौतिक पूर्वाधार मन्त्रीसँग आग्रह गरे ।
पूर्वमुख्यमन्त्री यादवले भने, ‘कुनै किसिमको सम्बन्ध छैन भने अर्को हाकिम पठाउनुस् ।’ उनले ५ करोड प्रत्यक्ष र डेढ करोड समानुपातिक सांसदको बजेट उपभोक्ताबाट गर्ने सुनेको, तर बाँकी बजेट कसले चलाउने भन्ने प्रश्न उठाए । उनले एउटा पनि योजना बिक्री भयो भने ठीक नहुने चेतावनीसमेत दिए ।