![](https://ejanakpurtoday.com/wp-content/uploads/2025/02/270e7ca7-67ca-4419-bcb9-e6e442b75da3_AuH60P2GUH.jpg)
रौतहटको मौलापुर नगरपालिका पतौरास्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचिकृत गराउने संकल्पसहित हुन लागेको मधानी महायज्ञको तयारी तीव्ररुपमा अगाडि बढाइएको नगर प्रमुख रिनाकुमारी साहले बताउनु भएको छ ।
फागुन ११ देखि सुरु हुने मधानी महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि तीव्ररुपमा अगाडि बढाइएको मेला आयोजक मूल समिति संयोजकसमेत रहेकी नगर प्रमुख साहले बताउनुभयो । नगर प्रमुख भएपछि पहिलोपटक २०७६ मा तत्कालीन सम्मानीय राष्ट्रपति विद्यादेवी भन्डारीबाट सुरुआत भएको मधानी महोत्सवको छैटौँ संस्करण २०८१ मा हुँदैछ ।
लगातार दोस्रोपटक नगर प्रमुखमा निर्वाचित साहले मधानी महोत्सवलाई नगरको प्रमुख पर्यटकीय तथा सांस्कृतिक कार्यक्रमको रुपमा राख्दै आउनु भएको छ । महोत्सवमा हुने विशेष पुजा, खेलतमासा, सांस्कृतिक कार्यक्रमसहितका विभिन्न विषयमा शुक्रवार छलफल गरिएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री प्रभु साहले महोत्सवका सन्दर्भमा राख्नु भएको छलफलमा नगर प्रमुख साहले महोत्सवको विभिन्न पक्षमा जानकारी गराउनु भएको हो ।
साँंसद तथा आजपा अध्यक्ष साहले नगरपालिका, विभिन्न समिति, उपसमिति, स्थानीय अगुवा, कलाकार तथा सरोकारवालासित छलफल गर्दै महोत्सव गरिमापूर्ण विशिष्ट बनाउन सुझाव दिनुभएको छ । महाशिवरात्रीको अवसरमा शिव–पार्वतीको विवाहउत्सवको रुपमा मनाइने मधानी महोत्सवको व्यवस्थापनका लागि नगर प्रमुख साहको अध्यक्षतामा मधानी महायज्ञ मूलसमिति १ सय १ सदस्यीय गठन भएको छ ।
यसैगरी लखिन्द्र साहको संयोजकत्वमा काँवरिया तथा पूजा अनुष्ठान समिति, त्रिभुवन साहको संयोकत्वमा शिवजी बारात यात्रा समिति, रामबाबुप्रसाद साहको संयोजकत्वमा टेन्ट, खेलतमासा तथा नाचगान व्यवस्थापन समिति, ठागा दासको संयोजकत्वमा घेराबेरा तथा मञ्च व्यवस्थापन समिति, मनोजप्रसाद यादवको संयोजकत्वमा दङ्गल प्रतियोगिता समिति गठन गरिएको छ । यसैगरी सुनिल साहको संयोजकत्वमा सरसफाई समिति, सरेशप्रसाद यादवको संयोजकत्वमा जग्गा वितरण समिति, जयप्रकाश महतोको संयोजकत्वमा सजावट समिति, नगर उपप्रमुख नागेन्द्रप्रसाद यादवको संयोकत्वमा अतिथि सत्कार समिति गठन भएको छ ।
साथै राजेश रौनियारको संयोकत्वमा खानेपानी तथा शौचालय व्यवस्थापन समिति, रानी साहको संयोजकत्वमा प्रचारप्रसार समिति, अच्छेलाल साहको संयोजकत्वमा स्वास्थ्य शिविर समिति, बालाशंकर कुशवाहाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, रामपुकार साहको संयोजकत्वमा आरती समिति, तेजनारायण साहको संयोजकत्वमा पञ्चकन्यातर्फको समिति, गणेश पटेलको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति र विवेक साहको संयोजकत्वमा मेस सञ्चालन समिति गठन भएको छ ।
सबै समिति तथा उपसमितिहरु क्रियाशील भई महोत्सवको तयारी धमाधम भइरहेको नगर प्रमुख साहको दाबी छ । मधानी महोत्सवमा हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेसहित महाकुम्भ मेलाबाट भाइरल गर्लको रुपमा परिचित मोनालिसाको पनि महोत्सवमा विशेष प्रस्तुति रहने जनाइएको छ ।
यसैगरी गायिका अनु चौधरी, तथा कलाकार सदाम हुसेन, रचना सिवाकोटी, रुद्र नारायण तिवारी, प्रीति आर्या पासवान, प्रिया सुहानी, रोसनी राज, सरिता साह, अर्जुन बीसी, मनीषा राईसहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकार हरुको समेत सहभागिता रहने जनाइएको छ । महोत्सवमा विगतको अनुभवलाई हेर्दा १० देखि १२ लाख श्रद्धालु पतौरा आउने विश्वास आयोजकले गरेको छ ।