२०८१ फाल्गुन ६, मंगलवार ०७:५७

मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेका अवैध नर्सिंग होम र क्रसरमा छापामारी गर्ने अभियान चलाएका मुख्यमन्त्री सतीशकुमार सिंहका सहयोगीहरुले होटेलमा ‘सेटिंग’को धन्धा चलाएको आरोप लागेको छ ।

प्रदेशको राजधानी जनकपुरधाममा दर्जनौँ निजी अस्पताल (नर्सिंग होम) अवैध रुपमा सञ्चालनमा रहेका छन् । मुख्यमन्त्री सिंहले छापामारी गर्न थालेपछि घोषित रुपमा ४ वटा अस्पताल बन्द भएका छन् । बन्द भएको अस्पतालमा पनि स्वास्थ्य सम्बन्धी कार्यहरु भित्रबाट भई नै रहेको मुख्यमन्त्री सिंहको एक्सनले देखिएको छ ।

मुख्यमन्त्री सिंहले आइतबार राति एम्बुलेन्स चालक भएर एउटा अस्पतालका गार्डलाई फोन गरी अस्पताल सञ्चालनको विषयमा जानकारी मागेका थिए । मुख्यमन्त्री सिंहले आफूलाई एम्बुलेन्सको चालक बताउँदै ‘मालदार’ बिरामी लिएर आएकाले भर्ना गरिदिन आग्रह गरेका थिए । तर गार्डले अस्पताल बन्द रहेको जानकारी गराउँदै भर्ना गर्न अस्वीकार गरेका थिए । सो संवादलाई मुख्यमन्त्री सिंहले अत्यन्त प्राथमिकताका साथ विभिन्न माध्यमबाट सार्वजनिक गरे । मुख्यमन्त्री सिंहले गार्डसित गरेको संवाद र गार्डको बौद्धिक, पदीय हैसियतसमेतबारे अनेक प्रतिकृयाहरु सार्वजनिक भएका छन् ।

पछिल्लो दुई हप्तामा मुख्यमन्त्री सिंहले क्रसर र निजी अस्पतालमा छापामारी गरेका छन् । अवैध रुपमा सञ्चालित क्रसरहरुलाई बन्द गराउन मुख्यमन्त्री सिंहले गरेको रात्रि कारबाहीको प्रारम्भमा व्यापक प्रशंसा गरिएको थियो । तर मुख्यमन्त्री सिंहले राजमार्गमा टिपर रोक्ने प्रयास गरिरहँदा जनकपुरधामको महाबीर चोक स्थित एउटा होटेलमा मध्यराति ‘सेटिंग’ भइरहेको आरोप लागेको छ । त्यसपछि क्रसरको कारबाहीलाई विराम दिएर मुख्यमन्त्री अवैध अस्पतालविरुद्ध कारवाही चलाए ।

जनकपुरधाममा मापदण्ड पूरा गरी सञ्चालनमा रहेका निजी अस्पतालको संख्या औँलामा गणना गर्न सकिने भए पनि बन्द ४ वटा मात्र भएका छन् । अस्पताल रोडमा कयौं लैव, पोलिक्लिनिक, नर्सिंग होम मापदण्ड पूरा नगरी बिना इजाजत सञ्चालनमा छन् । अदालतबाट दोषी ठहर भइ कारबाहीमा परेका चिकित्सकहरुले समेत निजी अस्पतालमा प्राक्टिस गरिरहेका छन् । तर मुख्यमन्त्री सिंहले कारबाही गरी बन्द गराएका अस्पतालमा कहिले पदीय हैसियतले त कहिले एम्बुलेन्स चालक भएर गार्डसित संवाद गरी तर्साउने काम गरिरहेको इजाजत प्राप्त अस्पतालका सञ्चालकहरु बताउँछन् ।

इजाजतका लागि मापदण्ड पूरा नगरेका सबै अस्पताल अवैध भएकाले प्रदेश सरकारले कारबाही गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । अवैध अस्पतालहरुले ब्रम्हलुट मच्चाएको र अवैध गतिविधि समेत गरिरहेको आरोप लाग्दै आएको छ । मुख्यमन्त्री सिंहले अवैध क्रसर, नर्सिंग होममाथि गरेको कारबाहीले निरन्तरता नपाएको आरोप लाग्न थालेको छ ।

नदीमा हुने अवैध उत्खनन रोक्न नदीमै पुगेका मुख्यमन्त्री सिंहको अभियान भने हाल सेलाएको आरोप लाग्न थालेको छ । नदीजन्य पदार्थको अवैध उत्खनन जारी नै रहेको देखिन्छ । अवैध उत्खननमाथि रोक लगाइए निर्माण काम तत्काल प्रभावित हुने भए पनि ‘सेंटिंग’कारण अवैध उत्खनन जारी रहेको बताइएको छ ।

प्रदेशमा विकास निर्माणको कार्य प्रभावकारी ढंगले अगाडि नबढेको आलोचना खेप्दै आएका मुख्यमन्त्री सिंहले भारतीय चलचित्र‘नायक’को चर्चा बटुल्ने प्रयत्न गरेर अवैध असुलीमा लागेको विपक्षी दलका नेताहरुले आरोप लगाएका छन् । मुख्यमन्त्री सिंहले कानुनी प्रकृया पूरा नगरी सस्तो लोकप्रियताका लागि निरीक्षण गर्ने काम गरेको जनता समाजवादी पार्टी(जसपा)नेपालका मधेश प्रदेश प्रमुख सचेतक रामअशिष यादवले आरोप लगाएका छन् । ‘मधेश प्रदेशको गौरवको योजना रहेको मधेश कृषि विश्वविद्यालयलाई नै धराशायी बनाएर मुख्यमन्त्री सिंहले क्रसर र अस्पतालको छानबिनमा लागेका छन्’ उनले भने, बहुत चाँडै मुख्यमन्त्रीको निरीक्षणको उद्देश्य सर्वसाधारणले बुझ्ने छन् ।

कृषि विश्वविद्यालयमा कार्यरत्त प्राध्यापक, कर्मचारी, भीसी, रजिष्ट्रारहरुले ७ महिनादेखि तलब नपाएपछि तालाबन्दी गरिएको छ । विद्यार्थीहरुको पठनपाठन पूर्ण रुपमा ठप्प भएको र नयाँ शैक्षिक सत्रका लागि भर्ना समेत रोकिएको उनले बताए । संघीय संसदमा सरकारले दर्ता गरेको अध्यादेश प्रकरणमा मधेश प्रदेश सरकारको नेतृत्व गर्ने जनमत पार्टी हट्ने चर्चा शुरु भएदेखि मुख्यमन्त्री सिंहले ‘निरीक्षण र सेंटिंग’मा लागेको आरोप छ ।

Comment


Related News