
भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका छन् ।
किट कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा यो नाका हुँदै घर फर्किएका छन् ।
उनले फर्किएका मध्ये करिब ८० प्रतिशत विद्यार्थी पर्साकै रहेको बताए । केहि विद्यार्थी मात्र बाहिर जिल्लाको रहेको र उनीहरू आफ्नै हिसाबले घरतर्फ लागेको उनको भनाई छ ।
फर्किएका विद्यार्थीहरूको विवरण सीमामा खटेका सुरक्षाकर्मीले राखेका छन् । उनीहरू आफ्नो सरसामान र किताब कापी लिएर पनि फर्किन नपाएका गुनासो गरेका छन् ।
निमित्त प्रजिअ गौतमले भन्छन्, ‘फर्किनेमध्ये अधिकांश विद्यार्थीले सुरक्षाकर्मीसँग वि वान्ट जस्टिस (हामीलाई न्याय चाहियो) बताएका छन् । कतिपयले परीक्षा सारिदिए हुन्थ्यो भनेका छन् ।’