अपडेट 
२०७७ बैशाख २, मंगलवार १७:५२

काठमाडाैं । हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको छ। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार सबै जनाको स्वास्थ्य सामान्य रहेको बताएका हुन्।

हालसम्म नेपालमा १६ जनामा संक्रमण देखिएको छ, जसमध्ये एक जना निको भइसकेका छन् । अन्य १५ जना संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। काठमाडौंको टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालमा २ जना, सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ४ जना, र वीरगञ्जस्थित नारायणी अस्पतालमा ४ जनाको उपचार भइरहेको छ।

पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले भने, ‘सबैको अवस्था अहिले सामान्य छ । उपचार भइरहेको छ।’ आरडिटी र पिसिआर दुवै विधिबाट गरेर १२ हजार ९ सय ६ जनाको परीक्षण भएको छ।

देशैभरका विभिन्न स्थानमा सञ्चालित पिसिआर विधिबाट गरिने परीक्षणमा हालसम्म ६ हजार २ सय ९९ जनाको परीक्षण भएको छ, जसमा गत २४ घण्टामा ५ सय ८४ जनाको परीक्षण गरिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा हालसम्म ४ हजार ८ सय १९ जनाको परीक्षण भएको छ भने अन्य ठाउँमा १ हजार ४ हजार ८० जनाको परीक्षण भएको छ। त्यस्तै, आरटिडी विधिबाट गरिएको परीक्षणमा हालसम्म ६ हजार ६ सय ७ जनाको परीक्षण भएको छ।

विभिन्न स्थानमा आरडिटीमार्फत गरिएको परीक्षणमा पोजेटिभ रिजल्ट आएको विषय प्रदेशस्तरीय पत्रकार सम्मेलनमा जानकारी गराइने प्रवक्ता देवकोटाले बताए।

अहिलेसम्म देशैभर विभिन्न स्थानका क्वारेन्टाइनमा गरी ५ हजार ७ सय ७१ जना छन् भने आइसोलेसनमा ९९ जना रहेका छन्। तीमध्ये १२ जना काठमाडौं उपत्यकाभित्र र ८९ जना काठमाडौंबाहिर रहेको प्रवक्ता देवकोटाले बताए।

स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको वेबसाइट र एपमा हालसम्म १६ हजार ४ सय ४८ जनाले विवरण भरेका छन्। गत २४ घण्टामा रेड जोनमा ९ जना परेको देवकोटाले बताए।  

Comment


Related News

Latest News

Trending News