
मकवानपुर प्रहरीले अवैध हतियार पेस्तोलसहित दुईजना भारतीय नागरिकलाई पक्रेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा १५ बाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्रेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२ वर्षका धिरज कुमार र भारतको बिहार राज्य मोतीहारी जिल्ला बहरी ग्राम बस्ने २६ वर्षका दीपक कुमार रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट एक राउण्ड गोली लोड भएको ९ एमएमको अटो पेस्तोल र सलाईको बट्टाभित्र लुकाएको अवस्थामा थप २ थान गोली ३ बरामद गरेको छ।
गौरबाट हेटौँडातर्फ आउँदै गरेको ना८ख ८७७३ नम्बरको बसलाई चेकिङको क्रममा अवैध हतियारसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। ‘विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोष्ट हरियालीको टोलीले चेकिङ गर्ने क्रममा पेस्तोलसहित दुईजना भारतीयलाई पक्राउ गरेका हौँ’, प्रहरी उपरीक्षक खड्काले भने, ‘प्रारम्भिक अनुसन्धानबाट हेटौँडामा कसैलाई दिने गरी ल्याएको भन्ने जानकारीमा आएको छ।’
यस विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए। अपराधिक क्रियाकलाप हुने स्थानमा यसअघि पनि हातहतियार किनबेच हुने गरेको प्रहरी उपरीक्षक खड्कको भनाइ छ।