
जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा कर्मचारीहरु बीच भएको विवादलाई लिएर नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
राराब क्याम्पसका प्रमुख बसन्त कर्णको कार्यकक्षमै भएको कर्मचारीहरु बीचको विवादले उग्ररुप लिएपछि कुटाकुटसमेत भएको थियो । सो कुटपिटमा परी केही कर्मचारीहरु घाइते पनि भएका थिए । सोही घटनाप्रति चासो व्यक्त गर्दै पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज यादवले सामाजिक सञ्जालमा स्टेटस लेख्दै कर्मचारी कुट्ने दोषी कर्मचारीलाई कारबाही गर्न माग गरे ।
उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल राष्ट्रीय कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र यादव, अखिल (क्रांतिकारी) धनुषाका अध्यक्ष वृकेश अधिकारी र राराब अखिल (क्रान्तिकारी) इकाइ अध्यक्ष सुशान्त यादव लगायत त्यहाँ अध्ययनरत विद्यार्थीहरूमाथि भएको सांघातिक आक्रमणको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दछु ।’
परीक्षाको विषयलाई लिएर शुरु भएको विवाद फाइटिगंसम्म पुगेको थियो । सो घटनामा ४ जना घाइते भएका थिए । घटनाको प्रहरीले पनि अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।