अपडेट 
२०७७ बैशाख ३, बुधबार १४:४०

काठमाडौं  । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ। कतिपय देशमा महामारीको रुप लिएको छ भने कपितय देशमा फैलने क्रममा छ। अहिले थोरै संक्रमण देखिएका देशमा झन खतरा हुने वैज्ञानिकहरुले चेतावनी दिइएका छन्।

कुनै पनि लक्षणबिना पनि कोरोना भाइरस संक्रमण हुनसक्ने पुष्टि भएको छ। जसले गर्दा धेरै संक्रमणका केसहरु नआएपनि कोरोना प्रभावित नै रहेको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ।

उनीहरुका अनुसार कतिपय देशहरुमा कोरोना भाइरसको केसहरु कम देखिए यो भविष्यमा अझ खतरनाक सावित हुनसक्छ। किनभने कोरोना संक्रमण केसहरु कम देखिएपछि उनीहरु सतर्कताका उपायहरु कम मात्रामा अपनाउनुका साथै अतिआवश्यक मानिने सामाजिक दुरी अपनाउनमा पनि हेलचेक्रयाइँ गर्ने हुँदा यो खतरनाक सावित हुनसक्ने विज्ञहरुको तर्क छ।

अमेरिकाको टेक्सास विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक नयाँ अध्ययनअनुसार, जुन देशहरुमा एक जना वा थोरै संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन्, त्यो देशहरुमा ५० प्रतिशतले कोरोना भाइरस फैलने सम्भावना रहन्छ। त्यहाँ कोरोना भाइरसको आशंका नै हुन नदिई भाइरसले ठाउँ लिएर पछि महामारीको रुप लिन सक्छ।

जीव विज्ञानका प्राध्यापक लौरेन एन्सेल मेयरका भन्छन् ‘मलाई चिन्ता छ कि धेरै स्थानीय अधिकारीहरु कदम चाल्न प्रष्ट प्रमाणका लागि कुर्ने गर्दछन्। जसका कारण नियन्त्रणमा ढिलाई हुन्छ।’ उनले भनेका छन्, ‘यो सन्देश हो, हामीले कुर्नु हुँदैन।’

प्राध्यापक मेयरका अनुसार, जो मानिस संक्रमित भएका छन् र हल्का लक्षणहरू छन् वा कुनै पनि लक्षण देखिएको छैन, तिनीहरुले समुदायमा भाइरस सार्न सक्छन्। उनीहरु भाइरस फैलनुको एक मुख्य कारण हुने गरेको अध्ययनले देखाएको छ।

तसर्थ कोरोना भाइरसको कम प्रभाव भएका देशहरुले समयमै आवश्यक सतर्कताहरु कडाइका साथ अपनाउनु पर्ने उनको सुझाव छ। ‘यो भाइरस छिटो र कहिलेकाँही चुपचाप फैलने एक प्रकारको अदृष्य खतरा हो,’ उनी भन्छन्, ‘यसको धेरै केसहरु आएपछि उपायहरु अपनाउन समय लाग्नुका साथै धेरै ढिला हुनसक्ने भएकै कारण यसको सतर्कताका उपायहरु समयमै अपनाउनुका साथै सामाजिक दूरी कायम राख्न जरुरी छ।’

Comment


Related News

Latest News

Trending News