
रौतहटको मौलापुर नगरपालिकाद्वारा पतौराधाममा आयोजित मधानी महायज्ञको अन्तिम पाँचौ दिन बिहीबार अन्तर्राष्ट्रिय पहालावानको सहभागितामा प्राचीन खेल दंगल कुस्तीसंगै सम्पन्न भएको छ ।
दंगल कुस्ती खेलमा नेपाल र भारतका नामुद पुरुष तथा महिला तर्फ चर्चित दर्जन बढी पहलवानहरूको सहभागिता रहेको थियो । मेयर रिनाकुमारी साहको प्रमुख आतिथित्य तथा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको कुस्ती पहालावानी खेलमा हजारौँ दर्शकहरुको सहभागिता रहेको थियो ।
पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने संकल्पसहित गत आइतबारदेखि शुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म विभिन्न कार्यक्रम सहित बिहीबार सम्पन्न भएको छ । पहिलो दिन फागुन ११ गते विभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा ,साक्षारत केन्द्रित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । १२ गते भगवान् शिवको बाजागाजासहित भव्य बरात यात्रा निकालिएको थियो ।
भगवान शिवको जन्ती यात्रालाई आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले स्वागत गरेका थिए । १३ गते शिव मन्दिरमा विशेष पूजा भएको थियो र शिव मण्डलीहरुका बीचमा भजन तथा धार्मिक कार्यक्रम प्रस्तुत गर्ने प्रतिस्पर्धा भएको थियो । बुधवार १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रममा नेपाल र भारतका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति राखेका थिए ।
भोजपुरी फिल्मका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे, महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसासहित भोजपुरी कलाकारहरू मिंटुवा, गायक सुनील पण्डित, नेपाली गायक गौरभनारायण राइ, भोजपुरीका कलाकार, प्रिया सुहानी लगायत स्थानीय कलाकारको पनि विशेष प्रस्तुति रहेको थियो ।
सांस्कृतिक कार्यक्रम हेर्न रौतहट, बारा, पर्सा, सर्लाही संगै भारत बिहारबाट मानशागर ओर्लिएको थियो । मधानी महायज्ञ नेपाल–भारत सम्बन्धको सेतु बनेको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले दाबी गरेकी छन् । प्रत्येक वर्ष महाशिवरात्रिको अवसरमा भगवान् शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण समेत हुने गरेको मेयर साहले बिश्वास व्यक्त गरेकी छन् ।