
सनातन परम्परालाई निरन्तरता दिँदै फाल्गुन कृष्णपक्षको अमावश्या अर्थात् बिहीबारदेखि धनुषाको कचुरीस्थित मिथिला बिहारी मठबाट मध्यमा परिक्रमा शुरु भएको छ । बिहीबार कचुरीबाट प्रस्थान गरेका परिक्रमावासी जनकपुरधामको दक्षिण सीमामा उपस्थित हनुमान गढीमा रात्रि विश्राम गरे । अनि शुक्रबार बिहान यहा“बाट प्रस्थान गरेर कल्याणेश्वर महादेवको काँखमा रात्रि विश्राम गरेर शनिबार बिहान फागुन शुक्लपक्षको द्वितीया तिथिमा १५ दिने मध्यमा परिक्रमा विधिवत शुरु हुने छ ।
मिथिला बिहारीको डोलाको नेतृत्वमा धार्मिक यात्रामा निस्केका देशी–विदेशी साधु–सन्त– महन्त तथा श्रद्धालुहरुको टोली फागुन पूर्णिमाको पूर्व सन्ध्यामा जनकपुरधाम फर्किने छन् । पूर्णिमाको बिहान जनकपुरधाम नगरको अन्तःगृह परिक्रमा गरेर पन्ध्र दिने धार्मिक यात्रा सम्पन्न हुने छ । मध्यमा परिक्रमा यस भेगकै सबभन्दा लामो समयसम्म चल्ने धार्मिक यात्रा हो । परिक्रमावासीहरु नेपालका १ सय ५ तथा भारतका २८ गरी कुल १ सय ३३ किलोमीटर पैदल यात्रा गर्छन् ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापित चार शिवालयहरु क्रमशः कल्याणेश्वर, जलेश्वरनाथ, क्षीरेश्वरनाथ र सतोषरलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको कथन छ । यात्रीहरु भारतको कलना, फूलगामा, करुणा र विशौल तथा नेपालको धनुषा र महोत्तरीका गरी ११ स्थानमा राति विश्राम गर्छन् । उनीहरु महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुग्ने छन् ।
श्रद्धालुहरु विश्राम गर्ने ११ वटै स्थान धार्मिक महत्वका छन् । फुलहरमा राम र सीताबीच पहिलो मिलन भएको धार्मिक विश्वास छ । रामसीताको विवाहको बेला तयार गरिएको विवाह वेदीको माटो मटिहानीको पवित्र लक्ष्मीसागरबाट खनेर ल्याएको मान्यता छ । कञ्चनवनमा राम र सीता फागु खेलेको किम्वदन्ती छ भने सीता स्वयंम्वरको बेला भा“चिएको शिव धनुषको एक टुक्रा धनुषाधाममा खसेको बताइन्छ । यसैगरि सतोषरमा सप्तऋषिको आश्रम रहेको धार्मिक विश्वास छ ।
देवी देवताको जन्मस्थान, धार्मिकस्थान तथा पवित्र पर्वत, नदी आदिको प्रदक्षिणा गर्ने परम्परा नयाँ होइन । राम जन्मभूमि अयोध्या, नेपालको पशुपतिनाथ, कृष्णजन्मभूमि मथुराजस्तै आदर्शनारी सीताको जन्मभूमि जनकपुरधामको परिक्रमा गर्ने पुरातन परम्परा हो । परिक्रमाका सहभागीलाई परिक्रमावासी भनिन्छ । अधिकांश सहभागी १५ दिनको खाद्यान्न, लत्ता– कपडा, औषधिआदि संगै लिएर जान्छन् । गृहस्थ र साधुहरु अ–आफ्ना घोडा, गाई, गोरु, गाडा, बाँदर पनि संगै लान्छन् ।
परिक्रमामा विशुद्ध पारिवारिक माहौल हुन्छ । यसै कारण परिक्रमावासी भनिएको हो । परिक्रमावासीहरु खाली खुट्टा यात्रा गर्छन् । शाकाहारी भोजन गर्छन् । वासस्थान अनुसार खानाको परिकार पनि फरक फरक हुन्छ । कञ्चनवनमा अरकञ्चन (गुंद्रुक जस्तो मैथिल परिकार), धनुषाधाममा रसभरी, करुणामा अल्हुवा(सकरकण्ड) र दूध, विशौलमा करी–बरही खाने चलन छ । खान–पानको व्यवस्था परिक्रमावासी आफै गर्छन् । स्थानीयवासीहरु सामूहिक भोजनको व्यवस्थापनि गर्छन् ।
सहभागीहरु दिनमा यात्रा गर्छन्, अनि भजन–कीर्तन गाएर रात बिताउँछन् । मध्यमा परिक्रमा चलिरहेको तथा विभिन्न विश्रामस्थलहरुको सर–सफाई, खाना–पानी, बिजुली, शौचालय, औषधि उपचार आदिको व्यवस्थामा स्थानीय सरकार जुटिरहेको बेला मेरो मनमा एउटा अनौँठो जिज्ञासाले दरिलो प्रभाव जमाएको छ । त्यो के भने १५ दिने परिक्रमाको क्रममा झण्डै २५ लाख श्रद्धालु सहभागी हुन्छन्, तर यस आयोजनबाट हामी आम्दानी कति गर्छौ ? भारतको प्रयागराजमा आयोजित महाकुम्भ भर्खरै सकिएको छ ।
भनिन्छ– महाकुम्भमा झण्डै ६५ करोड श्रद्धालुले पवित्र स्नान गरे । भारत सरकार महाकुम्भ आयोजनमा केही सय हजार रुपैयाँ खर्च गरेको थियो र आयोजनबाट केही हजार करोड रुपैयाँ आम्दानी ग¥यो । पशुपतिको दर्शन र सिद्राको व्यापार जस्तै हो । हामी यात्रीहरुका लागि भोजन, आवास, शौचालय, बिजुली वत्तीलगायत प्रायः सम्पूर्ण वस्तुको जोहो गरेर परिक्रमात्र होइन विवाह पञ्चमी, रामनवमी, झुला लगायतका पर्व–उत्सवहरुलाई निरन्तरता दिँदै आएका छौं ।
पुर्खाले शुरु गरेको परम्परालाई निरन्तरता दिनु हाम्रो दायित्व पनि हो, तर भारतले जस्तै यस्ता धार्मिक पर्व उत्सवहरुलाई हामीले किन व्यावसायीकरण गर्न सकिरहेका छैनौँ ? जनकपुरधाममा आयोजित रामायण कन्क्लेभमा पाहुनाहरुलाई भारतमा निर्मित मायाको चिनो प्रदान गर्न अभिसप्त जनकपुरधामवासी आफ्नै मौलिक मायाको चिनो किन बनाउँन सकेका छैनौँ ?
गंगा, यमुना, सरस्वतीको त्रिवेणीमा आयोजित महाकुम्भमा लाखौं रुपैयाँमा भाडा लाग्न सक्ने अस्थायी टेन्ट निर्माण गरिएको थियो । त्रिवेणी छेउमै हेली पैड निर्माण गरिएको थियो । अस्थायी पूल, सडक तथा सुविधा सम्पन्न स्टार होटलहरु निर्माण गरिएको थियो । र पो विल गेट्स र अम्बानीजस्ता खरबपतिहरु कुम्भमा स्नान गर्न गए । हामी मध्यमा परिक्रमा सडकसम्म निर्माण गर्न सकेका छैनौं ।
विश्रामस्थलहरुमा स्टार होटलको कुरै छाडौ राम्रा धर्मशालासम्म निर्माण गर्न सकेका छैनौं । जनकपुरधाममा आयोजन हुने पर्व उत्सवहरुमा पैसा खर्च गर्न सक्ने श्रद्धालुलाई आकर्षित गर्न तथा उनीहरुको प्रवास लम्ब्याउन भौतिक संरचनासंगै मौलिक खान–पान, कला–संस्कृति तथा शान्ति सुरक्षाको दरिलो व्यवस्थापन गर्न आवश्यक छ ।
जो तीनै तहको सम्मिलित प्रयासले मात्र सम्भव छ । यद्यपि परिक्रमा सडक तथा विश्रामस्थलहरुलाई सुव्यवस्थित गर्न जनकपुरधाम उपमहानगर पालिकका प्रमुख मनोजकुमार साहको अगुवाइमा परिक्रमा पुग्ने धनुषा र महोत्तरीका ९ पालिकाका प्रमुखहरुले मेयर्स फोरम गठन गरेको छ । जनकपुरधाम उपमहानगर पालिकाका प्रमुख मनोज कुमार साह, मेयर्स फोरमको माध्यमले विश्रामस्थलहरुको सौन्दर्यीकरण, साफ सफाई, खानेपानी, शौचालय तथा धर्मशाला निर्माणलगायतका भौतिक संरचना निर्माणमा सहजीकरण गरिने बताएका छन्