
‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ अन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनुषा आइपुगेका छन् ।
जिल्लाको कमला नगरपालिकास्थित माचीमा रात्रि विश्राम गरेका छन् । शनिबार राति माची आइपुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आइतबार विहान माची, लगमा, दुबरकोट, हथलेटवा, मंगराहा, औरही गाउँपालिका, चक्करहुँदै हँसपुर नगरपालिकास्थित सोनिगामामा सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र धनुषाका कार्यालय सचिव श्रीनारायण झा प्रतिहस्तले जानकारी दिए ।
त्यसपछि जनकपुरधाममा उद्योग वाणिज्य संघको सभाहलमा स्थानीय व्यापारी, व्यवसायीहरुसंग अन्तक्र्रिया कार्यक्रम गर्ने योजना रहेको उनले बताए । तत्पश्चात जनकपुरधामस्थित विन्धी, बसहियाबाट अन्यत्र जाने कार्यक्रम रहेको उनले बताए । अध्यक्ष प्रचण्ड विहानै मोर्निंग वाक गर्दै लगमास्थित हनुमान चोकमा भेला भइ दुबरकोट पुग्ने छन् भने त्यहाँबाट कमला नगरपालिकास्थित कार्यालय छेउमा नास्ता पछि जनतासंग भलाकुसारी गर्ने छन् । त्यसपछि उनी त्यहाँबाट मंराहादेखि पर्सामा नास्ता ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि औरही गाउँपालिका प्रस्थान गर्ने छन् । औरहीमा जनतासंग भलाकुसारी पछि चक्करमा अध्यक्ष प्रचण्डलाई स्वागतका लागि कार्यक्रम आयोजना गरिने छ । त्यसपछि जिल्ला स्तरीय खबरदारीसभामा सहभागी अध्यक्ष प्रचण्ड हुनेछन् । त्यहाँबाट सोनिगामादेखि तेतरियामा उनलाई स्वागत गरिने कार्यक्रम रहेको कार्यालय सचिव प्रतिहस्तले बताए ।
त्यहाँको कार्यक्रम सकिएसंगै उनी जनकपुरधाममा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । यता सोमबार महोत्तरी जाने कार्यक्रम भने तत्कालका लागि स्थगित गरिएको समेत उनले बताए । यसअघि सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेशीसित राज्यसत्ताले दोस्रो दर्जाको नागरिकको व्यवहार गरिरहेको बताए ।
‘अहिले पनि त्यो जारी नै रहेको छ’ उनले भने, देशका हरेक नागरिकसँग सामान व्यवहार हुन नसकेसम्म समृद्धि सम्भव छैन । खबरदारी सभामा बोल्दै अध्यक्ष प्रचण्डले रौतहटमा २९ जना माओवादी युवाहरूलाई एकैठाउँमा क्रूरतापूर्वक हत्या गरिएको स्मरण गरे । मधेशका मसिहा ठान्ने दलहरूले मधेशी जनतामाथि नै घात गरिरहेकाले अब उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको बताए। महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले अब मधेशले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताए ।
मधेशी जनता वास्तविक देशभक्त र सीमा रक्षकको रूपमा रहेको उल्लेख गर्दै उनले उनीहरूको सम्मान गर्नुको साटो अरू देशका नागरिक सरह व्यवहार गर्नु विभेद र अपमान भएकाले यसलाई प्रभावकारी कार्यक्रममार्फत नै अन्त्य गर्न सकिने र त्यसको नेतृत्व माओवादीले मात्रै गर्न सक्ने बताए । अहिले सरकारमा भएका दलहरू मधेशसँग सधैं गलत व्यवहार गरेको, मधेशवादी दलहरू पनि मधेशलाई प्रयोग मात्रै गर्ने गरेको भन्दै मधेशको मुक्तिदाता माओवादी नै रहेको उनले दाबी गरे ।
अध्यक्ष प्रचण्डले मधेशीको यथार्थ चित्रण गरिरहेको बेला त्यै मञ्चमा एकमात्र मधेशी नेता मातृकाप्रसाद यादव पछाडिको पंक्तिमा बसेका थिए । अन्य दल र राज्यसत्ताले मधेशीसित गरिरहेको विभेदबारे बोलेपनि आफ्नै पार्टीमा उनले गरिरहेको विभेदलाई उत्कर्षमा पु¥याएको आरोप लाग्दै आएको छ ।