अपडेट 
२०७७ बैशाख ३, बुधबार १८:१४

काठमाडौं। काठमाडौंमा समेत कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ। 

जरुरी कामबिना सडकमा निस्कने र लक डाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई तीव्र बनाइएको छ। राजधानी प्रवेश गर्ने सबै संभावित नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा तुल्याइएको छ। 

लकडाउन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन गस्ती र सुरक्षा जाँच बढाइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी बिश्वराज पोखरेलले अन्नपूर्ण अनलाइनलाई बताए। ‘सुरक्षाकर्मीको सदासयताको दुरुपयोग गर्दै लकडाउन उलंघन गर्ने प्रवृत्ति बढेकोले त्यसलाई निरुत्साहन गर्न सुरक्षा जाँच र गस्तीलाई थप कडा बनाइएको हो,’ डिआइजी पोखरेलले भने।

बुधबार बिहान मात्र लकडाउनको पालना नगर्ने २ हजार ३८ जनालाई कारवाहीस्वरूप ३ घण्टा बाटोमै होल्ड गरिएको छ । खासगरी बिहान बेलुका तरकारी किन्न तथा फ्रेश हुन भन्दै मानिसहरु सडकमा आउने प्रवृत्ति बढेपछि प्रहरीले यस्तो अभियान थालेको हो। 

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी बिश्वराज पोखरेलले बुधबार बिहान दुईघण्टामै लकडाउन उलंघन गर्ने दुई हजारलाई नियन्त्रणमा लिएर होल्ड गरिएको जानकारी दिए। 

उपत्यकाका मुख्यमुख्य चोक कोटेश्वर, जडिबुटी, जगाती, बल्खु, बानेश्वर , कालिमाटी , कलंकी , गौशाला , चाबहिल लगायतबाट लकडाउन उलंघन गर्ने समातिएका हुन्। अन्य दिनमा दिनभरमा हजारदेखि १५ सय समातिने गरेका थिए। 

उपत्यकामा अहिले तिनवटै सुरक्षा निकायका १५ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन्।
 

Comment


Related News

Latest News

Trending News