
सप्तरीमा एक फलफुल गोदाममा भारीमात्रामा लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्लाको राजविराज नगरपालिका वडा नं ९ मलेठस्थित एक स्याउ गोदाममा गाँजा फेला परेको सप्तरी प्रहरीले जनाएको छ । स्याउ गोदाम नजिकैको सडकबाट गइरहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सडक छेउको गोदाममा एक ट्रकबाट अर्को ट्रकमा शंकास्पद सामग्री अनलोड गरिरहेको देखेपछि शंकाको आधारमा सोधखोज गरेका थिए ।
प्रजिअ दाहालले गोदाम सञ्चालकलाई बोलाउँदा पनि उनले भेटघाट गरेका थिएनन् । त्यसपछि गोदाम फोडेर हेर्दा भित्र गाँजा फेला परेको छ । सो गोदाममा एक सयभन्दा बढी बोरामा गाँजा राखिएको थियो । गोदाम भित्र सिट नभएको एक स्कर्पियो पनि फेला परेको जनाइएको छ । अहिले सो स्थानमा प्रहरीले घेरा हालेको छ । गोदामको खानतलासी भइरहेको छ ।
सप्तरीका प्रजिअ दाहालले लागूऔषध गाँजासँगै गोदाममा अन्य वस्तुहरु रहेकोले यकिन गर्ने कार्य भइरहेको जनाए । प्रारम्भिक अनुमानअनुसार तीन हजार किलोभन्दा बढी गाँजा सो गोदामबाट फेला परेको छ ।